गृहपृष्ठ लमजुङमा पनि बढ्यो सम्बन्धविच्छेद

लमजुङमा पनि बढ्यो सम्बन्धविच्छेद

गत भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी संहितासँगै जिल्ला अदालत लमजुङमा सम्बन्धविच्छेदको माग गर्दै मुद्दा दर्ता गर्नेको संख्या बढेको छ । करीब तीन महिनाको अवधिमा ३७ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको अदालतका स्रेस्तेदार भूमिप्रसाद शर्माले बताए ।

भदौ १ देखि पुरुषले पनि सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न पाउने प्रावधानसहितको संहिता लागू भए पनि अदालतमा दर्ता भएका मुद्दामा पुरुष भन्दा महिलाको संख्या दोव्बर बढी छ ।

स्रेस्तेदार शर्माका अनुसार २६ महिला र ११ पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् जसमा १४ महिलाले दर्ता गरेको मुद्दामा मिलापत्र गरिएको छ । पुरुषले दर्ता गरेको एउटा मुद्दा फिर्ता भएको छ ।

सम्बन्धविच्छेदका लागि विशेषगरी लाउन–खान नदिएको, अवैध सम्बन्ध राखेको र सम्पत्ति हिनामिना गरेको लगायतका आरोपमा अदालत आउने गरेका छन् । पारिवारिक असमझदारी, वैदेशिक रोजगार, हतारको निर्णय, प्रेम विवाह र नयाँ पुस्ता स्वतन्त्र रूपमा रहन चाहनु नै सम्बन्धविच्छेदका प्रमुख कारण रहेको अदालतका स्रेस्तेदार शर्माले बताए ।

गत आवमा १५१ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । तीमध्ये १३३ मुद्दा फछ्र्यौट भएको थियो ।
रासस

प्रकाशित समय १६:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु