गृहपृष्ठ विराटनगर विमानस्थलमा आगलागी नियन्त्रणको अभ्यास

विराटनगर विमानस्थलमा आगलागी नियन्त्रणको अभ्यास

biratnagar-airport-newskarobar

विराटनगर विमानस्थलमा विमान उडान र अवतरणका क्रममा हुनसक्ने दुर्घटनाजन्य आगालागीका घटनालाई नियन्त्रण गर्ने उद्देश्यले शुक्रबार प्रयोगात्मक अभ्यास गरिएको छ । आगलागीको अवस्था सिर्जना गरेर विमानस्थलमा उद्धार र आगो नियन्त्रणको अभ्यास गरिएको हो ।

आपतकालीन अवस्थामा आइपर्नसक्ने जोखिमलाई न्यूनीकरण गर्न अभ्यास गरिएको हो । अभ्यासमा विमानस्थलमा कार्यरत सुरक्षा निकाय, नागरिक उड्डयन कार्यालयका कर्मचारी र विभिन्न एयरलाइन्सका कर्मचारी सहभागी भएका छन् ।

अभ्यासका क्रममा विराटनगर विमानस्थल रनवेको पुर्वदक्षिणतर्फको खाल्डोमा पेट्रोल खन्याएर आगलागीको अवस्था सिर्जना गरिएको थियो । त्यसअघि नै बारुणयन्त्रलाई तयारी अवस्थामा राखिएको थियो भने अग्नि नियन्त्रक कर्मचारीहरुसमेत आवश्यक उपकरणसहित तम्तयार अवस्थामा थिए ।

अभ्यासमा खटिएका कर्मचारीले पेट्रोल खन्याइएको खाल्डोमा आगो सल्काउनेवित्तिकै विमानस्थलमा जडान भएको आपतकालीन साइरन बजेको थियो । सो साइरन बज्नसाथ अभ्यासमा खटिएका अग्नि नियन्त्रक कर्मचारी र एम्बुलेन्स आगलागीस्थलतर्फ दौडिएका थिए ।

अभ्यासका क्रममा खटिएका अग्नि नियन्त्रकहरुले दन्दनी सल्केको आगो दुई मिनेटभित्रै पूर्णरुपमा नियन्त्रणमा लिएका थिए भने काल्पनिक घटनामा घाइते भएका यात्रुका आकृतिहरुलाई एम्बुलेन्समा राखेर अस्पतालतर्फ लगेका थिए । विमानस्थलमा हुनसक्ने दुर्घटना र आगलागीको जोखिमलाई तत्काल न्यूनीकरण कसरी गर्ने भन्ने जानकारीका लागि पुर्नताजगी पूर्वअभ्यास गरिएको विमानस्थलका प्रमुख टेकनाथ सिटौलाले जानकारी दिए ।

प्रकाशित समय ०६:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु