गृहपृष्ठ त्रिशूली जलविद्युत् आयोजनामा आगलागी, उत्पादन बन्द

त्रिशूली जलविद्युत् आयोजनामा आगलागी, उत्पादन बन्द

एक वर्षभित्र तीनपटक आगलागी

नुवाकोटस्थित त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी भएको छ ।

बुधबार साँझ ६ः३० बजेतिर विद्युत् प्रवाह हुने बसबारमा ताप उत्पन्न भएर आगो लाग्दा ब्रेकर नम्बर ६ मा रहेको ६ दशमलव ६ केभीको जेनेरेटर जलेर पूर्णरूपमा क्षति भएको केन्द्रका प्रमुख तारदत्त भट्टले जानकारी दिए । आगलागीले क्षति पुर्याएका उपकरण मर्मत र परिवर्तन गर्न १ करोडभन्दा बढी लाग्ने देखिएको भट्टले बताए । आयोजना सञ्चालनमा ल्याउन करीब एक साता लाग्ने अनुमान छ ।

२१ मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योेजनाको रूपमा रहेको १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् केन्द्रसमेत बन्द हुँदा राष्ट्रिय प्रसारणलाइनमा समेत ३५ मेगावाट विद्युत् गिरावट आएको छ ।

उत्पादन गृहमा लागेको आगो नियन्त्रणमा ल्याउन नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, विदुर नगरपालिकाको दमकलसहित स्थानीयवासीलाई एक घण्टाभन्दा बढी समय लागेको थियो । आगलागीले नुवाकोटसहित रसुवा र धादिङका केही स्थानमा विद्युत् आपूर्ति ठप्प भएको थियो । पछि सो क्षेत्रमा राष्ट्रिय प्रसारणलाइनमार्फत् विद्युत वितरण गरिएको प्राधिकरणले जनाएको छ ।

त्रिशुली आयोजनामा गत असार २६ र मङ्सिर ८ गते पनि आगलागी भएको थियो ।

प्रकाशित समय ०८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु