गृहपृष्ठ काष्ठमण्डप पुनःनिर्माण : १२ प्रतिशत काम सम्पन्न

काष्ठमण्डप पुनःनिर्माण : १२ प्रतिशत काम सम्पन्न

kasthamandap

काष्ठमण्डप पुनःनिर्माणको काम सन्तोषजनक रूपमा अघि बढीरहेको जानकारी दिँदै पुनःनिर्माण समितले हालसम्म १२ प्रतिशत काम सम्पन्न भइसकेको बताएको छ । समितिका अध्यक्ष राजेश शाक्यका अनुसार हालसम्म १२ प्रतिशत काम सम्पन्न भएको हो ।

सन्तोषजनक रूपमा पुनःनिर्माणको कार्य भइरहेको जानकारी दिँदै अध्यक्ष शाक्यले २०७६ असार मसान्तसम्म अर्को तलाको काम सुरू गर्नेगरी कार्य भइरहेको बताए । ‘निर्माणका लागि अहिलेसम्ममा ८१४ दशमलव ५२ क्युविक फिट काठ प्राप्त भइसकेको छ,’ शाक्यले भने ।

पुनःनिर्माणको बारेमा जानकारी गराउँदै अध्यक्ष शाक्यले महानगरबाट प्राप्त पाँच करोड ५० लाखमध्ये अहिलेसम्ममा एक करोड २२ लाख खर्च भइसकेको जानकारी दिए । यसअघिका पुराना काठमध्ये १० देखि १५ प्रतिशत मात्र काठ पुनःप्रयोग गर्न सकिने अवस्थामा रहेको बताइएको छ ।

भूकम्पका कारण पूर्णरुपमा क्षति भएको काष्ठमण्डप आगामी तीन वर्षमा सक्नेगरी निर्माणको काम भइरहेको पनि समितिले बताएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाकी प्रमुख अरुणा नकर्मीले काष्ठमण्डप सातौं शताब्दीको हो भन्ने प्रमाणित भएको बताउँदै सम्पदाको मर्मत र उपयोगमा सावधानी नअपनाउँदा काठमाडौंले भूकम्पबाट व्यहोरेको क्षतिलाई सिकाइका रुपमा हेरिनुपर्ने बताइन् ।

सम्पदा पुनःनिर्माणका समग्र प्रगतिलाई हेर्दा काष्ठमण्डपको प्रगति सन्तोषजनक छ । यसबाट अन्य सम्पदा पुनःनिर्माण गर्न पनि पाठ सिक्नुपर्ने संस्कृतिविद् प्रा.डा. सुदर्शनराज तिवारीले बताए ।

गत वैशाख ३१ गते काष्ठमण्डप निर्माणका लागि क्षमा पूजा गरिसकिएको छ । संरचनाविद् प्रेमनाथ मास्केले परम्परागत नेपाली शैलीमा निर्माण हुने यस सम्पदा उत्कृष्ठ हुने उल्लेख गरे ।

काष्ठमण्डपका झ्यालहरु निर्माण गर्नका लागि काठको तयारी गर्ने काम पनि सुरु गरिएको छ ।

डकर्मी समूहलाई बोलाइ काष्ठमण्डपको जगको गारोको साइटको जाँचबुझ गर्ने काम सुरु गरिएको छ । तेस्रो घेराको गारोको पनि तह मिलाउन केही सल निकाली तह मिलाई पुनःजोडाइ गर्ने काम हुँदैछ । काष्ठण्डपको मूल थाम, निदाल तथा अन्य थामका लागि नयाँ काठ आइपुगेको छ । सिकर्मी समूहबाट थामको तयारी गर्ने काम पनि सुरु गरिएको छ ।

समितिले जानकारी दिएअनुसार इँटा ल्याउने क्रम जारी नै छ । अहिले ठूला काठ ल्याउने काम हुँदैछ भने आउँदो माघ १५ गतेसम्ममा काष्ठमण्डपका मुख्य चारवटा थाम उठाइसक्ने लक्ष्य छ । काष्ठमण्डप ऐतिहासिक सम्पदा भएकाले निर्माणका क्रममा प्रत्येक चरणको जानकारी राख्नुपर्ने र सम्पदालाई लामो समयसम्म बाचाइराख्न समय समयमा तीनको मर्मतसम्भार गर्नुपर्ने स्थानीयवासीको भनाइ छ ।

प्रकाशित समय १२:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु