गृहपृष्ठ गिरिराजमणि पोखरेल भन्छन्- शिक्षा नाफा कमाउने क्षेत्र होइन
गिरिराजमणि पोखरेल भन्छन्- शिक्षा नाफा कमाउने क्षेत्र होइन
‘शिक्षालाई श्रमसँग, श्रमलाई सीपसँग र सीपलाई उत्पादनसँग जोड्नुपर्छ’
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा नाफा कमाउने क्षेत्र नभएको बताएका छन् । पछिल्लो समय शिक्षामा चरम व्यापारीकरण भएको टिप्पणी भइरहँदा मन्त्री पोखरेलले यो सेवा क्षेत्र भएको तर व्यापारिक क्षेत्र नभएको टिप्पणी गरे ।
आइतबार चन्द्रागिरि नगरपालिकास्थित बलम्बुमा रहेको जापान सरकारद्वारा निर्मित प्रनिधि माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् । त्यस अवसरमा उनले शिक्षा क्षेत्रमा गरिएको लगानी नाफा कमाउन भन्दा पनि देश विकासमा केन्द्रित हुनुपर्ने टिप्पणी गरे ।
‘शिक्षा क्षेत्रलाई सेवाको क्षेत्र बनाउनुपर्ने हो । शिक्षामा काम गर्नु भनेको देश विकासमा सहयोग गर्नु हो,’ मन्त्री पोखरेलले भने, ‘नाफाको आशा नगर्नुस्, देशका लागि योगदान दिनुहोस् । शुल्क निर्धारण गर्दा सरकारी प्रणालीलाई लागू गर्नुहोस् ।’
सार्वजनिक शिक्षालाई सबल बनाउनुपर्ने बताउँदै प्राविधिक/व्यावसायिक शिक्षालाई जोड दिनु आवश्यक रहेको मन्त्री पोखरेलको भनाइ थियो । यस वर्ष विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउने र अर्को वर्ष साक्षर नेपाल घोषणा गर्ने तयारी भइरहेको उनले जानकारी दिए । उनले सरकारले थालेको समृद्ध नेपाल र सुखी नेपाली बनाउने बनाउने अभियान शिक्षालाई नयाँ ढङ्गले अघि बढाएमात्र सफल हुने बताए ।
मन्त्री पोखरेलले शिक्षालाई श्रमसँग, श्रमलाई सीपसँग र सीपलाई उत्पादनसँग जोड्नुपर्ने बताए । शिक्षालाई पूर्वाधारका रुपमा विकास गर्नुपर्ने भन्दै उनले शिक्षामा विज्ञान प्रविधि जोड्नु अनिवार्य रहेको बताए । विज्ञान र प्रविधिलाई उत्पादन शक्तिका रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो ।
प्रकाशित समय २०:२१ बजे

















