गृहपृष्ठ ३३ किलो सुन तस्करी प्रकरणका ८ जनालाई थुनामै राख्न उच्च अदालतको आदेश
३३ किलो सुन तस्करी प्रकरणका ८ जनालाई थुनामै राख्न उच्च अदालतको आदेश
साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा संलग्न भुजुङ गुरुङसहित ८ जनाले थुनामुक्त हुन गरेकाे पुनरावेदन उच्च अदालत विराटनगरले खारेज गरेकाे छ ।
उच्च अदालतका कामु मुख्य न्यायाधीश शिवराज अधिकारी र लेखनाथ घिमिरेको इजलासले गुरुङसहित ८ जनालाई थुनामै राख्ने जिल्ला अदालतको आदेश सदर गरेको हो । थुनामा रहेका ८ जनाले उच्च अदालतमा रिहाईको माग गर्दै पुनरावेदन गरेका थिए ।
बिहीबार उच्च अदालतले भुजुङ गुरुङ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ, राजु महर्जन, कपिलराज पुरी, फुल्टुङ भनिने लक्षुबहादुर गुरुङ, बेनु श्रेष्ठ र डाक्टर डेभिट भनिने छिरिङ वाङ्ला घलेलाई थुनामै राख्ने जिल्ला अदालतको आदेश सदर गरेको उच्च अदालत विराटनगरका रजिस्टार नारायण रेग्मीले जानकारी दिए । यसअघि सुन मुद्दाका मुख्य आरोपीलाई छाड्ने विवादास्पद आदेश दिने उच्च अदालतमा मुख्य न्यायाधीश साधुराम सापकोटासहित पाँचजना न्यायाधीशलाई न्यायपरिषदले कारवाहीस्वरुप काजमा काठमाडौं तानेको थियो ।
उच्च अदालत विराटनगरले बालकृष्ण खड्का, ठाकुरप्रसाद ढुंगाना, रेवत भन्ने रेवतकुमार आचार्य, विनोद अधिकारी र मोतिराम श्रेष्ठलाई धरौटीमा छाड्ने जिल्लाको आदेश सदर गरेको छ । यी पाँचै जनालाई जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएको थियो । उच्च अदालतले अबु सलाम खान भनिने शैयाद अकबर र डब्बु भनिने इस्तियाज उद्दिनलाई भने जनही १० लाख धरौटीमा छाड्ने आदेश दिएको रजिस्टार रेग्मीले जानकारी दिए ।
सुन तस्करी प्रकरणमा गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले मोरङ प्रहरीमार्फत वैशाख १९ गते जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो । गोरेका सहयोगी रामकुमार तिवारी, सञ्जय खेतान भनिने प्रभात अग्रवाल, मदन शिलवाल जनही पाँच लाख धरौटीमा छुटेका छन् । त्यसैगरी राजकुमार दारुका, माधव भनिने मदनप्रसाद घिमिरे, आर के भन्ने राजेन्द्रकुमार शाक्य र विनोद पोद्दारलाई उच्च अदालतले जनही १० लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।
काठमाडौं तानिएका न्यायाधीशकाे आदेशपछि उच्च अदालतबाट पूर्वडीआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल भने साधारण तारेखमा पूर्पक्ष गर्न पाउने गरी यसअघि नै छुटिसकेका छन् ।
प्रकाशित समय ११:४१ बजे

















