गृहपृष्ठ डा. केसीले भने- जुनसुकै बेला ‘सत्याग्रह’ सुरू गर्छु
डा. केसीले भने- जुनसुकै बेला ‘सत्याग्रह’ सुरू गर्छु
फाइल तस्बिर
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा. गोविन्द केसीले जुनसुकै बेला ‘सत्याग्रह’ सुरू गर्नसक्ने चेतावनी दिएका छन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । मेडिकल शिक्षा सुधारको माग गर्दै १६ औं पटकसम्म अनसन बसेका डा. केसी चिकित्सा क्षेत्रभन्दा बाहिरका मुद्दामा केन्द्रित हुन थालेपछि विवादित बनेका थिए । यद्यपी यस पटक पनि उनले त्यस्ता मुद्दा भने उठाएका छन् ।
बुधबार केसीद्वारा जारी विज्ञप्तिमा ‘देशमा व्यापत केही घटना प्रति हाम्रो ध्यानाकर्षण भएको छ’ भनिएको छ ।
डा. केसीले गण्डकी मेडिकल कलेजले विद्यार्थीहरूसँग चर्को शुल्क लिएको विषय उठाएका छन् । ‘गण्डकी मेडिकल कलेज लगायत अन्य विभिन्न कलेजले विद्यार्थीहरुसँग चर्को अबैध शुल्क असुलेको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अबैध शुल्क उठाएको विषयमा विद्यार्थी आन्दोलनमा उत्रिँदा समेत नियमन निकायले ध्यान नदिनु दुर्भाग्यपूर्ण हो,’ उनीद्वारा जारी विज्ञप्तिको पहिलो नम्बरमै भनिएको छ, ‘शुल्कको विषयमा हामीसँग सम्झौता भई नेपाल सरकारले तोकेको शुल्क भन्दा बढी शुल्क असुल गर्ने कलेज संचालकलाई फौजदारी मुद्दा चलाएर कडा कारबाही गर्न माग गर्दछौं । साथै हाल आन्दोलनरत विद्यार्थिको माग प्रति ऐक्यबद्धता जनाउँदै, उनीहरुको माग अविलम्ब पूरा गर्न जोडदार माग गर्दछौं ।’
त्यस्तै उनले आफूले पहिल्यै महाभियोग लगाउन माग गरेको अख्तियारका आयुक्त राजनारायण पाठकलाई कारबाही नगरिँदा पछिल्लो स्थिती सिर्जना भएको पनि उनको विज्ञप्तिमा जनाइएको छ । ‘२ वर्ष अगाडि नै हामीले महाभियोग लगाउन माग गरिएको अख्तियारका आयुक्त राजनारायण सिंह पाठकलाइ सो समयमा कारवाही नगरिएकाले हालको अवस्था सिर्जना भएको हो,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘पाठकको घुस प्रकरण चार महिना अगाडि नै प्रधानमन्त्री खड्ग प्रसाद ओली स्वयमले थाहा पाएर गुपचूप रहनु गम्भीर विषय हो ।’
डा. केसीले पाठकलाई ‘राजीनामा दिन लगाएर उन्मुक्ति दिन खोज्नु’ दण्डहीनताको चरम नमुना भएको टिप्पणी गरेका छन् । उनले पाठकलाई कानुनी कठघरामा उभ्याउन पनि माग गरेका छन् । ‘आयुक्त पाठकलाइ कानुनी कठघरामा उभ्याएर कानुन अनुसार कारवाही गर्न माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रै आन्दोलनबाट पदीय दुरुपयोग गरी हटाइएका तर कारबाही नगरिएका अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्की तथा सर्वोच्च अदालतका तत्कालीन प्रधानन्याधीश गोपाल पराजुलीलाई समेत कानुन अनुसार कारबाही गर्न माग गर्दछौं ।’
डा. केसीले संसदमा दर्ता भएको शान्ति सुरक्षा विधेयक तथा सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा पनि ‘गम्भीर आपत्ति’ जनाएका छन् । ‘हाल संसदमा दर्ता भएको विधेयकले नागरिकलाई कुनै पनि स्थानमा स्वतन्त्र भेला हुनबाट वञ्चित गर्नुका साथै वाक् स्वतन्त्रता बाट समेत वञ्चित हुने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ । नागरिक अधिकार कुण्ठित गर्ने विधेयक आफूलाई स्वीकार्य नहुने उनको चेतावनी छ ।
मुलुकमा भ्रष्टाचार बढेको भन्दै उनले कार्यकारी प्रमुखको नाताले यसको मुख्य जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने जिकिर गरेका छन् । डा. केसीले सरकारले आफूसँग १५ औं अनसनका बेला गरेका सहमतिअनुसार अघि बढ्न ध्यानकार्षण गराउँदै ‘अन्यथा जुनसुकै समयमा आमरण अनसन सहितको सत्याग्रह सुरु’ गर्ने चेतावनी दिएका छन् ।
प्रकाशित समय १५:२७ बजे

















