गृहपृष्ठ लोकतन्त्रकलीले छावा जन्माई

लोकतन्त्रकलीले छावा जन्माई

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्रमा रहेको लोकतन्त्रकलीले बिहीबार छावा जन्माएकी छ ।

बिहान ४ः१५ बजे १२ वर्षकी कलीले छावा जन्माएको निकुञ्जका पशु स्वास्थ्य प्राविधिक पुरुषोत्तम पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार यस वर्ष निकुञ्जमा लोकतन्त्रकलीसहित पाँच माउ हात्तीले छावा जन्माएका छन् ।

गएको वर्ष निकुञ्जका हात्तीले छावा जन्माएका थिएनन् । हात्तीको प्रजननलाई ठूलो उपलब्धिको रूपमा लिइन्छ । यससँगै निकुञ्जमा चार भाले र एक पोथी छावा भएका छन् । यसअघि असोज २३ गते पूजाकलीबाट पोथी छावा, कात्तिक १६ गते गणेशकलीबाट भाले छावा, मङ्सिर ३ गते तमरकलीबाट भाले छावा र पुस १४ गते कणालीकलीबाट भाले छावा जन्मिएका थिए । अझै तीन गर्भिणी हात्तीले अर्को वर्ष बच्चा जन्माउने पाण्डेले जानकारी दिए ।

अहिले निकुञ्जमा ५७ हात्ती छन् । गर्भिणी भएपछि २२ देखि २४ महिनामा हात्तीले बच्चा जन्माउँछ । कोशीटप्पु राष्ट्रिय निकुञ्जबाट ल्याइएका पाँच हात्ती पनि चितवन राष्ट्रिय निकुञ्जमा छन् । निकुञ्जको हात्ती प्रजनन एवं तालिम केन्द्र, सौराहा र कसराको हात्तीसार एवं पोष्टमा हात्ती राखिँदै आइएको छ ।

२०४२ सालमा भारत सरकारले दिएको १६ हात्ती ल्याएर सुरु गरिएको प्रजनन केन्द्रमा हालसम्म २९ हात्तीका बच्चा जन्मिसकेका छन् ।(रासस)

प्रकाशित समय ०९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु