गृहपृष्ठ अदुवा निकासीमा भारतको फेरि अवरोध- बारी र गोदामै कुहिँदै

अदुवा निकासीमा भारतको फेरि अवरोध- बारी र गोदामै कुहिँदै

काँकडभिट्टा– भारतले आयातकर्ताको लाइसेन्सबिना अदुवा निकासी गर्न नपाउने भन्दै अवरोध खडागरेको छ । मुख्य सिजनमै छिमेकी मुलुकबाट अवरोध भएपछि किसानहरू चिन्तित भएका छन् । उनीहरूले यसपालि लगानीसमेत डुब्ने अवस्था आएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष नरेन्द्रकुमार खड्काले भारतले सधंै सिजनकै समयमा अदुवा रोक्ने गरेको जनाए । हाल अदुवा निकासीमा भारतीय आयातकर्ताको लाइसेन्स अनिवार्य गरिएको छ । वैदेशिक व्यापारसम्बन्धी महानिर्देशनालय पटनाले केही दिनअघि सीमावर्ती भन्सारहरूमा पत्राचार गरी लाइसेन्स अनिवार्य गरिएको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका उपमहावाणिज्य दूतनारायण शर्माले जनाए । उनले भने, ‘भारतीय आयातकर्ताको लाइसेन्स नहुँदा नेपाली अदुवा रोकियो ।’

अदुवा निकासी अवरोधबारे पानीटयांकीस्थित भन्सार कार्यालयले आयातकर्ताले लाइसेन्स नलिएसम्म अदुवा निकासी अवरोध जारी रहने जनायो । ‘जसले आयात गर्छ, उसले लाइसेन्स लिनुपर्छ अनि मात्रै आयात सुचारु गर्नेछौं भन्ने जवाफ आयो,’ भारतीय भन्सारका डिपुटी कमिस्नरको भनाइ उद्धृत गर्दै शर्माले भने ।

भारतले यसअघि वस्तु तथा सेवा करको कारण देखाउँदै अदुवा निकासी रोकेपछि नेपाली अधिकारीले भारतीय पक्षसँग सिलिगुडीस्थित राजस्व कार्यालयमा छलफल गरी नरोक्ने सहमति गरेका थिए । वाणिज्य मन्त्रालयको द्विपक्षिय व्यापार तथा पारवहन शाखाका उपसचिव तर्कराज भट्टले भारतले अदुवामाथि बारम्बार अवरोध गर्नु वाणिज्य सन्धिविपरीत भएको बताए । उनले निकासी अवरोध हटाउन वाणिज्य मन्त्रालयले पहल गरिरहेको जनाए ।

‘सन्धिमा अदुवालगायतका कृषिजन्य वस्तु रोक्नै पाइँदैन,’ उनले भने, ‘तर, विभिन्न बहानामा उसले रोक्ने क्रम जारी राखेको छ ।’ भारतीय आयातकर्ता विमल प्रधानले अचानक भारतीय भन्सारले लाइसेन्स अनिवार्य गरेका कारण अदुवा आयात गर्न नसकिएको बताए । ‘पहिला जीएसटीको कारण देखायो, अहिले इम्पोटर लाइसेन्सको झमेला झिकेका छन्,’ प्रधानले भने ।

प्रकाशित समय ०८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु