गृहपृष्ठ ‘ब्याट्री केज’ प्रणालीबाट दैनिक डेढ लाख अण्डा उत्पादन
‘ब्याट्री केज’ प्रणालीबाट दैनिक डेढ लाख अण्डा उत्पादन
स्याङ्जा-भीरकोट नगरपालिका ६ मा सञ्चालित खिलुङकालिका एग्रो फर्मले दैनिक १ लाख ६० हजार अण्डा उत्पादन थालेको छ ।
फर्मका कार्यकारी अधिकृत शोभाकान्त ढकालका अनुसार ‘ब्याट्री केज’ प्रणालीबाट सञ्चालित लेयर्स कुखुरा फर्मबाट दैनिक उक्त परिमाणको उत्पादन सुरु भएको हो । फर्ममा दुई लाखवटा कुखुरा छन् । ‘लेयर्सका लागि जर्मन प्रविधिको ब्याट्री केज हो, हाम्रो लक्ष्य दिनको २ लाख अण्डा उत्पादनको छ,’ उनले भने, ‘अपेक्षाकृत उत्पादन सुरु भएको छ ।’ एउटा केजमा आठवटा कुखुरा राख्ने गरिएको उनले बताए । ‘अहिले हाम्रा ६ हजार २ सय ४० वटा केजको कुखुराको अण्डा एकै ठाउँ जम्मा पार्ने काम मेसिनबाटै हुन्छ,’ उनले भने ।
५० करोड लागत रहेको बताइएको फर्म ४० रोपनी क्षेत्रफलमा छ । यसको सञ्चालनमा स्थानीय सातजनाको लगानी छ । दुई लाख कुखुरा राख्न चारवटा भवन निर्माण गरिएको छ । एउटामा ५० हजार चल्ला हुर्काउन मिल्ने गरी तीनवटा सेक्सन छन् । बन्द सेक्सनभित्र चल्ला हुर्काइन्छ । चार महिनामा वयष्क हुने जर्मनी र मलेसियाबाट ल्याइएका कुखुराले १५ महिनासम्म अण्डा पार्ने फर्मले जनाएको छ । फार्ममा हाल दैनिक चारदेखि पाँच टनसम्म सुली उत्पादन हुने गरेको छ ।
प्रकाशित समय ०८:१३ बजे