गृहपृष्ठ नाकामा नाराबाजी गर्ने हजारौंको भीडसँगै थिए कैलालीका नयाँ संक्रमित युवक
नाकामा नाराबाजी गर्ने हजारौंको भीडसँगै थिए कैलालीका नयाँ संक्रमित युवक
कुनै लक्षण नै नदेखिएको महिलामा पनि संक्रमण पुष्टि
नाकामा आइपुगेका नेपालीलाई रोक्दै सुरक्षाकर्मी । (फाइल तस्बिर : दिनेश बिष्ट/न्युज कारोबार)
कैलालीमा थप नयाँ भेटिएका कोरोना संक्रमित युवक हजारौंको भीड हुँदै नेपाल भित्रिएको खुलेको छ । गत चैत ११ गते त्रिनगर नाकामा नाराबाजी गर्ने भीडमा उनी पनि भएको प्रहरीले जनाएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि सरकारले यसको रोकथामका लागि चैत ११ गतेदेखि लकडाउन घोषणा गर्दै सीमा नाका बन्द गरेको थियो । त्यसपछि रोजगारी र विभिन्न कामका लागि भारत गएकाहरु घर फर्कने क्रममा नाकामा थुप्रिएका थिए ।
त्रिनगर नाकापारि भारतीय भूमि गौरीफान्टामा ११ गते बिहान भारतबाट फर्किएकाहरुले ‘नेपाल प्रवेश गर्न पाउनुपर्ने’ माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले सुरक्षाकर्मीमाथि नै ढुंगामुढा गर्न थालेपछि बल प्रयोग गर्नुपर्ने अवस्थासमेत आएको थियो । मन्त्रिपरिषदको निर्णयपछि सीमामा रोकिएका ९ सय ९९ जनालाई प्रहरीले २१ वटा बसमार्फत गन्तव्यतर्फ पठाएको थियो ।
नाराबाजी गर्नेहरुको भीडमा कैलालीको लम्कीचुहा नगरपालिकाका ती २१ वर्षीय संक्रमित युवक पनि भएको प्रहरीले जनाएको छ । गाडीको व्यवस्था गरी गौरीफन्टा नाकाबाट विभिन्न ठाउँ पठाइएकाहरुमा उनी पनि रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।
चैत ११ गते साँझ नै लम्की पुगेका उनी भोलिपल्ट मात्र लम्कीचुहा नगरपालिका- ९, प्रतापपुरस्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा पुगेका थिए । ती युवकको निगरानीमा संलग्न स्वास्थ्यकर्मीका अनुसार १२ गते बिहान घरबाटै उनलाई क्वारेन्टाइनमा लगिएको थियो । नमूना संकलन गरी परिक्षणका लागि काठमाडौँ पठाएकोमा शनिबार उनको रिपोर्ट पोजेटिभ आएको हो । उनलाई एम्बुलेन्समार्फत सेती प्रादेशिक अस्पताल लगिएको छ ।

त्रिनगर नाकाबाट ती युवकसँगै फर्किएका ९ सय ९९ जनामध्ये अधिकांश घर पुगिसकेका छन् भने धेरै कमलाई मात्र अनिवार्य क्वारेन्टाइनमा राखिएको छ । हजारौंको भीडसँगै नेपाल भित्रिएका युवकमा कोरोना संक्रमणको पुष्टि भएपछि स्थानीयमा त्रास बढेको छ ।
लक्षण नै नदेखिएको महिलामा संक्रमण पुष्टि
दुबईबाट फर्किएका धनगढीका ३४ वर्षीय युवाबाट उनकी भाउजुमा पनि कोरोना भाइरस सरेको पुष्टि भएको छ । ती महिलामा अहिलेसम्म कुनै लक्षण नदेखिएको उनको परिवारका सदस्यहरुले बताएका छन् । तर संक्रमित युवकसँग भेट भएको १२ दिनपछि परिवारका ९ जना सदस्यको बिहीबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको थियो । जसमध्ये युवककी भाउजुको रिपोर्ट पोजेटिभ देखिएको हो ।
सबैको उपचार सेती अस्पतालमा, अवस्था सामान्य
शनिबार धनगढीका पहिलो संक्रमित युवाकी ३४ वर्षीय भाउजु, भारतको मुम्बइबाट फर्किएका २१ वर्षीय युवक र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएपछि उनीहरुलाई धनगढीस्थित सेती अस्पतालमा ल्याइएको छ ।
ती सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले बताए । ३४ वर्षीय युवतीको नमूना सेती अस्पतालबाट गरिएको थियो । बाँकी दुई जनाको भने क्वारेन्टाइनबाटै नमूना संकलन गरिएको हो ।
प्रकाशित समय १६:५१ बजे

















