गृहपृष्ठ वन समितिद्वारा एक बिगाह जमिनमा तरकारी खेती
वन समितिद्वारा एक बिगाह जमिनमा तरकारी खेती
करिब २९०.४ हेक्टर वन क्षेत्रको संरक्षण, दुई हेक्टर चरिचरन क्षेत्रमा तारजाली
शिवशक्ति सामुदायिक वन उपभोक्ता समिति वीरेन्द्रनगर ११ को नेतृत्व ११ जना महिलाले गरेका छन् । विगत १५ वर्षदेखि पुरुषहरुले नेतृत्व गर्दै आएको सामुदायिक वन उपभोक्ता समितिलाई तीन वर्षदेखि महिलाहरुले मात्रै नेतृत्व गर्दै आएका हुन् । उनीहरु जंगलको संरक्षण सँगसँगै पछिल्लो समय सामुहिक तरकारी खेतीमा समेत संलग्न भएका छन् । एकातिर करिब एक बिगाह जमिनमा उनीहरुले आलु, काउली, प्याज, लसुनलगायत च्याउ खेतीसमेत गर्दै आएका छन् भने अर्कोतिर जंगलमा अम्रिसो लगाई त्यसबाट समेत आम्दानी लिइरहेका छन् । समितिमा रहेर जंगल संरक्षणका लागि थुप्रै काम गरेका उनीहरुले महिलाहरुलाई व्यवसायिकतातर्फ आकर्षित गर्नको लागि कृषि समूह निर्माणगरी सामुहिक तरकारी खेती गरेको बताउँछन् ।
वन संरक्षणका लागि पनि थुप्रै काम भएको र आर्थिक रुपमा महिलाहरुलाई सशक्त बनाउनको लागि जमिन भाडामा लिएर सामुहिक तरकारी खेतीतर्फ लागेको वन उपभोक्ता समितिकी अध्यक्ष मिना आचार्यले जानकारी दिइन् । ‘करिब दुईसय बढी महिलाहरु कृषि समूहमा आवद्ध हुनुहुन्छ,’ उनले भनिन्, ‘सुरुवाती चरणमा जम्मा एक बिगाहा जमिनमा कृषि समूहको बोर्ड सदस्यहरुले तरकारी खेती गर्दै आएका छौं ।’ बिस्तारै सबै महिलाहरुलाई सहभागी गराउने लक्ष्य रहेको उनले बताइन् । विधिवत रुपमा कृषि समूह दर्ता गरि उक्त कामको थालनी गरेको आचार्यले बताइन् ।
‘पहिले सामुदायिक वनको एकताले भवन बाहेक कुनै पनि संरचना थिएन, अहिले जंगल क्षेत्र हराभरासँगै थुप्रै संरचना निर्माण भएका छन्,’ आचार्यले थपिन् । उनले पुरुषले नेतृत्वमा महिला नपत्याउँदा जबरजस्ती नेतृत्व लिएर सफलतापूर्वक जिम्मेवारी पूरा गरेको सुनाइन् । उनका अनुसार करिब २९०.४ हेक्टर वनक्षेत्रको संरक्षण सँगसँगै समितिले वनको माथिल्लो तला थप, करिब दुई हेक्टर चरिचरन क्षेत्रमा तारजाली, तीन वटा रिचार्ज ट्यांकी, वाच टावर, गोलघर र समुदाय नजिकै कृषि वन निर्माण, व्युरेनीमा दुईवटा धारा जडानलगायत, बाढीको जोखिम भएको समुदायमा तारजालीको कामसमेत उपभोक्ता समितिले गरेको छ । त्योबाहेक समितिको विधान निर्माण, हरेक वर्ष वृक्षारोपण, दैनिक वन गस्ती लगायतका विभिन्न संघसंस्थाहरुको समन्वयमा थुप्रै काम गरेको आचार्यले बताइन् । उनले कार्यकाल सकिनुभन्दा पहिले एउटा पिकनिक स्पोर्टसमेत निर्माण गर्ने तयारी भएको जानकारी दिइन् ।
समुदाय र परिवारले वन समितिको नेतृत्व लिँदा काम गर्न सक्दैनन् कि भनेर नेतृत्व दिन नमानेको पूरानो घटना सम्झँदै उपाध्यक्ष गीता सुनारले अहिले जंगलको संरक्षणसँगै आर्थिक रुपमा समेत सशक्त भएको बताइन् । ‘म पहिले गृहिणी मात्रै थिएँ,’ उनले भनिन्, ‘वन समितिको नेतृत्व लिएपछि आँटिली भएकी छु र आर्थिक रुपमा समृद्ध भएकी छु ।’ उनले जंगलमा महिलालाई डर हुने भन्दै समितिमा सबै महिलाको नेतृत्व समुदायले स्वीकार नगरे पनि तीन वर्षको कार्यकालमा धेरै काम गर्न सफल भएको उनले सुनाइन् । वन समितिमा रहेका करिब ७५० घरधुरी उपभोक्ता सबैलाई कृषिमा समेत व्यवसायिक बनाउनको लागि पहल गरिएको सुनारले बताइन् । उनका अनुसार वन समितिमार्फत तरकारी खेतीको सुरुवात गर्न थालेको करिब ६ महिना बितेको र अब आम्दानीको चरणमा समिति पुगेको छ । वन समितिमार्फत् निर्माण गरेको कृषि समूहका समस्याहरुले नै पालैपालो तरकारी बारीमा काम गर्ने गरेको उनले बताइन् । तरकारी खेतीमा भएको खर्च र आएको आम्दानी समूहमा बराबर वितरण गर्ने उनले सुनाइन् ।
कृषि समूहमा आवद्ध स्थानीय दुर्गा थापाले आफू वन उपभोक्ता समितिमा नभए पनि कृषि समूहमा आवद्ध भई सामुहिक तरकारी खेती गर्दै आएको बताइन् । ‘उपभोक्ताहरुलाई समेत समितिले सहज दाउरा घाँस उपलब्ध गराएको छ,’ उनले भनिन्, ‘त्यसको अलवा दिगो सोच राखी वन संरक्षणका लागि थुप्रै कामसमेत भएका छन् ।’ थापाले वन उपभोक्ता समितिले आफूलाई पनि कृषि समूहमा आवद्ध गराई सामुहिक तरकारी खेतीमा संलग्न गराउँदा खुसीको सीमा नरहेको सुनाइन् ।
सामुहिक तरकारी खेती र वन संरक्षणबाहेक वन उपभोक्ता समितिले हरेक वर्ष स्थानीय चारवटा बाल विकास केन्द्रहरुलाई गरी २४ हजार आर्थिक सहयोगसमेत गर्दै आएको छ । त्यस्तै शिव माध्यमिक विद्यालय धुलिया बिटमा कृषि विषय पढाई हुन थालेपछि आवश्यक डेस्क, बेन्चको समेत व्यवस्था समितिले गरेको छ । तरकारी खेतीको लागि वडाले टनेलको लागि पलाष्टिक बाहेक कतैबाट पनि आर्थिक सहयोग नपाएको अध्यक्ष आचार्यले बताइन् । उनले समितिका सबैले व्यक्तिगत रुपमा खेती गर्दा लाग्ने रकम उठाई सोहीअनुसार काम अगाडि बढाएको सुनाइन् । अम्रिसो र धनियाँ बेच्न सुरु गरे पनि अन्य बाली भने बिक्रीका लागि तयार भइनसकेको उनले जानकारी दिइन् ।
प्रकाशित समय १०:३४ बजे

















