गृहपृष्ठ बैंकिङ जागिरमा युवाको आकर्षण, भन्छन् ‘ग्लामर र मर्यादित क्षेत्र’
बैंकिङ जागिरमा युवाको आकर्षण, भन्छन् ‘ग्लामर र मर्यादित क्षेत्र’
सर्लाहीकी बबिता खड्का अहिले के एण्ड के कलेजमा म्यानेजमेन्ट पढ्दैछिन् ।
भविष्यमा बैंकर बन्ने लक्ष्यसहित उनले म्यानेजमेन्ट विषय रोजेकी हुन् । पढ्नमा अब्बल दर्जाकी उनको सानैदेखि बैंकर बन्ने ठूलो रहर छ ।
बिनिताजस्तै धेरै युवा अहिले बैंकको जागिरे हुने प्रयासमा छन् । हेर्दा चिटिक्क टाईसुटमा सजिएको दैनिकी अनि आकर्षक सेवासुविधा र सुरक्षित भविष्य । यही देखेर अहिलेका युवा जमात बैंकमा करिअर बनाउन विज्ञान विषयलाई पछि धकेलेर म्यानेजमेन्ट पढ्न आकर्षित छन् ।
बैंक तथा वित्तीय संस्थामा प्रवेश गर्ने बित्तिकै आर्थिक हैसियत उकासिने भएकाले पनि यसको आकर्षण बढ्दो छ । अन्य पेसा तथा व्यवसायका तुलनामा बैंकको जागिर सानै पद् भए पनि जीवनयापन गर्न थप संघर्ष गर्नुनपर्ने बैंकका जागिरेहरूको अनुभव छ ।
सुनधाराकी झरना कार्कीले म्यानेजमेन्ट इन बिजनेस स्टडी (एमबीए) सकेको चार वर्ष भयो । तीन वर्षअघि सञ्चारमाध्यममा कार्यरत उनले एमबीए सकिनेबित्तिकै वित्तीय क्षेत्रलाई आफ्नो करिअर बनाइन् । अधिकृत स्तरको जागिरमा कार्यरत उनको लाइफ स्टाइल पहिलेको पेसामाभन्दा अझ सुरक्षित र आकर्षक बनेको छ । ’बैंकिङ क्षेत्र ग्ल्यामर र मर्यादित क्षेत्र भएकाले लागेको हुँ ।’ झरना भन्छिन् ।
इटहरीकी अनिसा बस्नेत सुस्मा कलेजमा बीबीएस तेस्रो वर्षमा अध्ययरनत छिन् । उनले हालैमात्र गरिमा विकास बैंकमा नाम निकालेर काम गर्न थालेकी छन् । ‘सुरुमा अलि प्रेसर फिल गरेकी छु,’ उनले भनिन्, ‘तर भविष्य सम्झिएर नै सानोतिनो सास्ती भुलिदो रहेछ ।’

नेपाल बैंक लिमिटेडका सीईओ देवेन्द्रप्रताप शाहले कृषि विकास बैंकमा सेक्सन अफिसरका रुपमा ३० वर्षअघि आफ्नो बैंकिङ करिअर सुरु गरेका हुन् । उनको बैंकिङ करिअरले ३० वसन्त पार गरेको छ । बीमा समितिको अध्यक्षसमेत भईसकेका उनी हाल नेपाल बैंक लिमिटेडको नेतृत्व सम्हालिरहेका छन् ।
यो पेसा सुरक्षित हुनुका साथै यसलाई समाज तथा आमजनमानसले हेर्ने दृष्टिकोण नै फरक छ’, शाह भन्छन्, ‘पहिला म साहित्यमा जान चाहान्थेँ । घर तथा आफन्तको इच्छाअनुसार यो क्षेत्रमा प्रवेश गरेँ ।’
बैंकिङ क्षेत्रले उपलब्ध गराउने सेवासुविधा, काम गर्दा प्राप्त हुने सन्तुष्टि, समाज तथा आममानिसको दृष्टिकोणमा बैंकिङ क्षेत्र उत्कृष्ट मानिएको उनले बताए ।
केही समयअघिसम्म बैंक तथा वित्तीय क्षेत्र साँघुरो भएकाले यसमा कम अवसर थियो । अहिले वित्त बजार फराकिलो भएको छ । त्यसैले बैंकिङ करिअरमा अवसर बढ्दो छ । अहिले बैंकिङ क्षेत्रमै अवसर नपाए पनि म्यानेजमेन्ट विषय पढेका विद्यार्थीको भविष्य राम्रो बन्दै गएको शाहको बुझाइ छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरू विस्तार भइरहेका छन् । गाउँ–गाउँसम्म यसका सेवा पुग्दैछन् । अब त झन् संघीय संरचना अनुसार ७ सय ५३ वटा स्थानीय तहमै बैंक तथा वित्तीय संस्थाका शाखाहरु विस्तार हुँदैछन् । यसको विस्तारसँगै करियर बनाउनेको संख्या पनि बढ्दो छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा २६ हजारभन्दा बढीले रोजगारी पाइरहेका छन् । यो तथ्यांक वाणिज्य बैंकहरुको मात्र हो । विकास बैंक, फाइनान्स कम्पनी तथा लघुवित्तको तथ्यांक भने नेपाल राष्ट्र बैंकसँग पनि छैन ।
पछिल्लो समय बैंकिङ क्षेत्रमा महिलाको आकर्षण अझ बढ्दो छ । यो क्षेत्र मर्यादित हुनुका साथै काम गर्ने निश्चित समय अवधि, कामअनुसारको आकर्षक तलबभत्ता अनि वार्षिक बोनसको सुविधा भएकाले पनि यसमा आकर्षण बढेको हो ।
बैंकको जागिर सानै पद भए पनि दुईचार लाख जोगाउन सकिने क्षेत्र हो । बाहिरी आकर्षण त छ नै, त्यसमा पनि जिम्मेवार, लगनशील तथा पेसागत क्षेत्र हो, बैंकिङ ।
बैंकिङ क्षेत्रमा लाग्नेको परिवारको समेत भविष्य सुरक्षित हुने भएकाले यसको आकर्षण अझ बढेको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाको भनाइ छ । ‘एउटा सानो पदबाट बैंकिङ क्षेत्रमा प्रवेश गरियो भने पनि ऊ अवकाश पाउने समयसम्म बैंकको दोस्रो तथा तेस्रो पोजिसनमा पुग्छ’, उनी भन्छन्, ‘एक त मर्यादित पेसा, त्यसमा पनि उसले पाउने सेवासुविधाले परिवारको भविष्यसमेत सुरक्षित हुन्छ यो पेसामा ।’
प्रकाशित समय ०८:५८ बजे

















