गृहपृष्ठ निर्यात क्षेत्रका समस्या समाधान गर्न सरकारले पहलकदमी गरिरहेको छ : प्रधानमन्त्री
निर्यात क्षेत्रका समस्या समाधान गर्न सरकारले पहलकदमी गरिरहेको छ : प्रधानमन्त्री
अबका प्रयास सुशासन र आर्थिक विकासमा केन्द्रित
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तथा निजी क्षेत्रको साझा प्रयासबाट मात्र मुलुकको समृद्धि सम्भव हुने बताएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा मंगलबार आयोजित ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (सीआइपी) सम्मान समारोहलाई सम्बोधन गर्दै उनले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको दोहोर्याए ।
प्रधानमन्त्री ओलीले निजी क्षेत्रको अप्ठ्यारा र असुविधा सम्बोधन गर्न सरकार तयार रहेको बताए । निर्यात व्यापारमा देखिएका समस्या समाधान गर्न सरकारले पहलकदमी लिएको उदाहरण दिँदै उनले भने, ‘केही समयअघि सुपारी, अदुवा तथा पाम आयलको निर्यातमा समस्या थियो, अहिले समस्या समाधान भएको छ, निर्यातका विभिन्न क्षेत्रमा सरकारले सहजीकरण गरिरहेको छ ।’
उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापन र निर्यात अभिवृद्धिमा लाग्न निजी क्षेत्रलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट निजी क्षेत्रलाई पूर्णरुपमा साथ रहने विश्वास दिलाए । ‘ढुक्क हुनुहोस्, विश्वस्त भएर काम गर्नुहोस्,’ व्यवसायीलाई आश्वस्त पार्दै प्रधानमन्त्रीले भने, ‘यदि कुनै अप्ठ्यारो आए मलाई भन्नुहोस् ।’
राजनीति परिवर्तनपछि मुलुक आर्थिक समृद्धिको चरणमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अबका प्रयास सुशासन र आर्थिक विकासमा केन्द्रित हुने बताए । ‘अब हामी नयाँ मार्गमा उत्साहित भएका छौँ, सिङ्गो देश विकासको काममा नलागी सुशासन र विकास सम्भव छैन,’ उनले भने, ‘विकास र समृद्धिका लागि निजी क्षेत्रको सामूहिक सहयोगको खाँचो छ, सुशासन र देश विकासमा हाम्रो सामूहिक प्रयास लगाउनुपर्छ ।’
विकास र समृद्धिको मामिलामा सरकार र निजी क्षेत्रको समान धारणा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले अब सुशासनमा पनि एक मत हुनुपर्ने बताए । सुशासन विकास र समृद्धिको बाधक नभएको प्रष्ट्याउँदै उनले पारदर्शिता, स्वच्छता र कानूनको परिपालना गर्न निजी क्षेत्रलाई आग्रह गरे ।
निजी क्षेत्रलाई लगानीमा सहजीकरण गर्न सरकारले विभिन्न प्रयास अगाडि बढाएको जानकारी दिँदै प्रधानमन्त्रीले लगानीको वातावरण बनाइएको बताए । ‘एकल विन्दु सेवा स्थापना गरिएको छ, लगानीको वातावरण बनाइएको छ, बैंक, वित्तीय संस्था र उद्योगीका बीमा उचित र सन्तुलित सम्बन्ध होस्, सरकार र व्यवासयीबीच पनि सौहार्द्रपूर्ण सम्बन्ध होस् हामी यही चाहेका छौँ,’ उनले भने ।
प्रकाशित समय १६:३२ बजे

















