गृहपृष्ठ कालापानी जाने घोरेटो बाटोको ट्रयाक खुलेपछि छांगरु र तिंकरबासीलाई सहज

कालापानी जाने घोरेटो बाटोको ट्रयाक खुलेपछि छांगरु र तिंकरबासीलाई सहज

छाङरू बस्ती ।

नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्र्याक खुलाएको छ । गत जेठ ९ गतेदेखि काम सुरु गरेको सेनाले ५५० मिटर बाटोको ट्रयाक खुलाएको हो । भारतले सडक निर्माणका क्रममा घाँटीबगर क्षेत्रमा बाटो अवरुद्ध हुँदा व्यास गाउँपालिकाको वडा नं १ छांगरु र तिंकरका बासिन्दालाई आवतजावत गर्न समस्या भएपछि सेनाले बाटो खोल्ने जिम्मा पाएको थियो ।

चार महिना बढी समय लगाएर सेनाले अप्ठ्यारो ठाउँमा बाटोको ट्रयाक खुलाएको हो । मौसम प्रतिकुल नहुनु, कडा चट्टानी भूगोल र सामान ढुवानीमै समय लागेका कारण ट्र्याक खुलाउने काम ढिलाइ भएको नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी सन्तोषबल्लभ पौडेलले बताए । ‘भिर फुटाएर ट्र्याक खुलाइएको छ । सफाइ गर्ने काम एक दुई दिनभित्र सकिन्छ,’ उनले भने ।

यो बाटो खुलेसँगै व्यासका बासिन्दालाई जोखिमपूर्ण मानिएको क्षेत्रमा बाटो सहज भएको छ । व्यासको छांगरु र तिंकरका बासिन्दा कार्तिक महिनामा सदरमुकाम खलंगा कुञ्चा झर्ने गर्छन् । व्यासको छांगरुमा ११७ र तिंकरमा ८७ घरधुरीको बसोबास छ । चट्टानी भूगोलले केही ढिलाइ भए पनि स्थानीयका लागि सहज रुपमा आवतजावत गर्न मिल्ने गरी बाटो निर्माण भएको व्यास- २ का बासिन्दा हरकसिंह कार्कीले बताए । घाँटीबगरमा सेनाले बनाएको बाटोमा ट्र्याक राम्रो खुलेको र त्यो बाहेकका अन्य चार पाँच ठाउँमा पुनः बाटो अवरुद्ध भएको उनले बताए ।

घाँटीबगरमा सेना बसेको क्याम्पको तल ठूलो पहिरो गएको छ । त्यो क्षेत्रमा पनि आवतजावत गर्न निकै सास्ती भएको व्यासको तिंकर पुगेर खलंगा फर्किनुभएका कार्कीले जानकारी दिए । तलतिरको बाटो नखुलाएसम्म अहिले नै व्यासी कुञ्चा सर्न सक्दैनन् । तम्बाकुमा व्यास गाउँपालिकाको बजेटमार्फत बाटो खुलाउने काम भए पनि कडा चट्टानी भाग भएका कारण खुल्ने सम्भावना छैन् । यो क्षेत्रमा अहिले पनि तारको सहारामा चट्टानी भूभागमार्फत नदी पार गर्नुपर्ने उनको भनाइ छ ।

यस्तै तम्बाकु नजिकको नयाँ निर्माण गरिएको बाटो सबै भत्किएको छ । कल्जुगाडमा झोलुंगे पूल बगाएको छ भने कल्जगाड भन्दा तल र माथि बाटो भत्किएको छ । सबै ठाउँमा बाटो निर्माण गर्न सके मात्र सहज रुपमा व्याससम्मको बाटो खुल्ने उनले बताए । तम्बाकुभन्दा तलतिर बाटो नहुँदा व्यासबाट फर्किने भेडा व्यवसायी अहिले बुदीमै रोकिएका छन् ।

घोरेटो बाटो खुलाएको सेनाले लगत्तै सडक निर्माणको काम पनि थालनी गर्नेगरी तयारी भइरहेको नेपाली सेनाका प्रवक्ता पौडेलले बताए । सेनाले दुई ठाउँमा क्याम्प राखेर सडक निर्माणको थालनी गर्ने उनले जानकारी दिए । उनले भने, ‘अहिले परामर्शदातामार्फत अध्ययन भइरहेको छ ।’ सो सडकखण्ड निर्माणको जिम्मा पाएको सेनाले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को काम सुरु गरेको छ ।

सैनिक मुख्यालयका अनुसार मोटर बाटोको डीपीआर तयार पार्न विकास निर्माण गणबाट प्रमुख सेनानी रमेश गुरुङको नेतृत्वमा सैनिक टोली गत साउन २३ गतेदेखि सदरमुकाम खलंगामा छ । महाकाली नदी किनारै किनार भएर सडक निर्माण गर्नुपर्ने बताइएको छ । सडक निर्माण गर्न सके व्यासीको सपना पूरा हुने स्थानीयवासी बताउँछन् ।

यस क्षेत्रमा धार्मिक पर्यटनको निकै सम्भावना छ । कैलाश पर्वत दर्शन, चीन सँगको व्यापार, अपिहिमाल लगायतका थुप्रै पर्यटकीय क्षेत्र यस क्षेत्रमा पर्छन् । ‘अहिले बाटो नहुँदा छांगरु र तिंकरका बासिन्दा सदरमुकाम खलंगा आउन पाएका छैनन्, सदरमुकाममा रहेका त्यहाँका मानिस पनि गाउँ फर्किन पाएका छैनन्, चाँडो बाटो निर्माण भयो भने स्थानीयवासीलाई आफ्नै भूमि भएर गाउँ जान सहज हुन्छ,’ व्यास- १ का बासिन्दा जगदीशप्रताप ऐतवालले भने । सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारी गरेपछि यहाँका बासिन्दा पनि नेपालकै भूमि भएर आवतजावत गर्न पाए भन्नेमा छन् ।

व्यासीहरु हरेक वर्ष छ महिना व्यास र छ महिना सदरमुकाम खलंगा बस्ने गर्छन् । अहिले व्यासको छांगरुमा सशस्त्र प्रहरीको गुल्मसमेत बसेको छ । बाटो नभएकै कारण सशस्त्र प्रहरीले नेपालकै बाटो भएर खाद्यान्न ढुवानी गर्न हेलिकप्टर कुर्नुपरेको छ । (रासस)

प्रकाशित समय १९:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु