गृहपृष्ठ मध्यपहाडी लोकमार्ग : सम्झौता मिति सकिनै लाग्दा पनि सुरू भएन कालोपत्रेको काम
मध्यपहाडी लोकमार्ग : सम्झौता मिति सकिनै लाग्दा पनि सुरू भएन कालोपत्रेको काम
कालोपत्रको काम नहुँदा धुलाम्मे भएर दैनिक आवतजावत गर्नुपर्ने बाध्यता
फाइल तस्बिर
सम्झौता मिति सकिन तीन महिना बाँकी रहँदासम्म मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डभित्र कालोपत्रको काम सुरु हुनसकेको छैन । कच्ची कटानको काम निरन्तर चलिरहेको भए पनि कालोपत्रको काम भने अहिलेसम्म सुरु हुन सकेको छैन ।
तीस महिनाभित्र ३५ किलोमिटर सडकमा कालेपत्र सक्ने गरी शर्मा, सिंह एण्ड ब्रदर्स जेभी काठमाडौँले कामको जिम्मा लिएको थियो । कालोपत्रको काम नहुँदा धुलाम्मे भएर दैनिक यातायातका साधन मुस्किलका साथ सञ्चालन भइरहेका छन् ।
सडकको सात मिटर चौडाइ बनाएर कालोपत्र गर्ने गरी सम्झौता भएको थियो । जेभीका प्रतिनिधि विश्वास उप्रेतीका अनुसार १७ किलोमिटरको दूरीमा रहेको कुदु–गिमासम्म एक भाग र गीमादेखि छेडागाड नगरपालिकाको कार्की गाउँसम्म १८.५ किलोमिटरको अर्को भाग बनाई एकैपटक काम सुरु गरिएको भए पनि अहिलेसम्म कालोपत्र गर्न नसकिएको हो । पहिलो चरणमा ४९ करोड २६ लाख रूपैयाँमा काम हुनेछ भने अर्को भागमा ५० करोड ४७ लाख रूपैयाँको काम भइरहेको छ । त्यस्तै कुदुबाट थलहसम्म एकै जेभीले ठेक्का पाएको छ । अहिले मन्ताभिरमा कडा चट्टान काट्ने काम भइहेको उप्रेतीको भनाइ छ ।
सोभन्दा अगाडि दैलेखको सिमानासम्म ठेक्काको कच्ची काम भइरहेको छ । ५५ किलोमिटरभित्र चिसो कम हुने बित्तिकै कालोपत्रको काम सुरु हुने बताइएको छ । ३५ किलोमिटर सडकको ठेक्का लिएको मिति सकिन तीन महिना बाँकी छ भने अर्को खण्डको २४ महिना बाँकी छ । पाँचथरको चिया भञ्ज्याङबाट बैतडीको झुलाघाटसम्म एक हजार ७७६ किलोमिटर लम्बाइ रहेको मध्यपहाडी लोकमार्ग जाजरकोटमा ८२ किलोमिटर रहेको छ ।
मापदण्डविपरीत सिमेन्ट र बालुवा प्रयोग
मापदण्डभित्र रही सिमेन्ट बालुवा प्रयोग नगर्दा जाजरकोट खण्डमा निर्माण भएको नाली, छेउका पर्खाल भत्किएका छन् । प्राविधिक गएर दुईपटकसम्म पर्खाल भत्काएको बताएका छन् । निर्माण कम्पनीले भने स्थानीयवासीलाई निर्माणको जिम्मा दिँदा बिगारेको आरोप लगाएको छ । अहिले पूरै सडक कच्ची कटान गरी फराकिलो बनाउने काम भएकाले त्यसमा गुणस्तर कम भएको प्राविधिकले बताएका छन् ।
आठ वर्षदेखि पुल अलपत्र
मध्यपहाडी लोकमार्गअन्तर्गत भेरी नदीको पुल आठ वर्षदेखि अलपत्र पर्दा यातायात सञ्चालनमा समस्या भएको छ । ठेकेदारको लापरवाहीले रुकुम पश्चिमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने पुलको जगसमेत पूरा नभएको हो । पुल निर्माण अलपत्र परेपछि लोकमार्गको रुकुम–जाजरकोट खण्डसमेत अपूरो बनेको छ । तीन वर्षभित्र पुल निर्माण सक्ने गरी वाइपी कन्स्ट्रक्सन, ललितपुरले मध्यपहाडी आयोजना कार्यालयसँग विसं २०६९ मा सम्झौता गरेको थियो । १३ करोड ४७ लाख रूपैयाँ लागतमा निर्माणाधीन पुलको अहिलेसम्म सबस्ट्रक्चर (टावर जग) समेत पूरा भएको छैन । पुल निर्माण नहुँदा रुकुम र जाजरकोट सडक सञ्जालमा जोडिन सकेका छैनन् भने स्थानीयबासी झोलुंगे पुलबाट आवतजावत गर्न बाध्य छन् ।
पुल निर्माणका लागि ल्याइएका एक्साभेटर, टिपर, मिक्सचरलगायत मेसिन निर्माणस्थल वरिपरि अलपत्र अवस्थामा छन् । गत आवमा ठेकेदार निर्माणस्थलमै नआएको भेरी नगरपालिका–१३ का वडाध्यक्ष गोपाल बटालाले बताए । सडक विभागको पुरानो डिजाइनअनुसार काम गर्न समस्या भएपछि रिडिजाइन गर्दा निर्माणमा ढिलाइ भएको वाइपी कन्स्ट्रक्सनले जानकारी दिएको छ ।
म्याद पटकपटक थप्दा पुल निर्माणमा समस्या भएको मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखका इञ्जिनीयर लक्ष्मणबहादुर केसीले बताए । उनका अनुसार चौरजहारी साइटमा पिलर तथा फाउन्डेसनको काम पूरा भए पनि कुदुतर्फको काम अझै हुन सकेको छैन । लोकमार्गअन्तर्गतकै कुदुबाट दैलेखको सुयाँडा, जाजरकोट खण्डको छेडागाड थलहलगायत खोलामा पुल निर्माण अलपत्र परेको आयोजनाले जनाएको छ । त्यस्तै छेडागाड नगरपालिकाको थलहमा समेत पुल निर्माण नहुँदा अलपत्र परेको छ । (हेमन्त केसी/रासस)
प्रकाशित समय ०८:५३ बजे

















