गृहपृष्ठ चट्याङ रोक्ने संयन्त्र घरैपिच्छे जडान गर्ने तयारीमा सरकार
चट्याङ रोक्ने संयन्त्र घरैपिच्छे जडान गर्ने तयारीमा सरकार
चट्याङबाट बर्सेनि सयभन्दा बढीको मृत्यु
नेपालमा चट्याङबाट बर्सेनि सयभन्दा बढी मर्ने गरेको विपद व्यवस्थापन महाशाखाको तथ्यांकले देखाउँछ । तर, चट्याङबाट कसरी सजग रहने भन्ने विषयमा भने कसैको ध्यान पुगेको देखिँदैन ।
गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख केदार न्यौपानेका अनुसार चट्याङका कारण गत वर्षमात्रै एक सय पाँच जनाको मृत्यु भयो । जसमा ५५ जना पुरुष र ५० जना महिला थिए । चट्याङबाट २८४ जना घाइते भएका थिए । ‘विशेषगरी चट्याङ चैत वैशाख र जेठमा पर्ने भएकाले यो समयमा मानिसले सावधानी अपनाउने हो भने चट्याङबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न सकिन्छ,’ उनले भने ।
चट्याङ विशेषज्ञ डाक्टर श्रीराम शर्मा यसको मुख्य जिम्मेवारी बोकेको सरकारी निकाय गृह मन्त्रालयले समेत यस विषयलाई खासै चासो नदिएको बताउँछन् । ‘हामीले लामो समयदेखि नेपालमा बढी मात्रामा चट्याङ पर्नुको कारण खोजी गरिरहेका छौं,’ विशेषज्ञ शर्माले भने, ‘त्यसबाहेक सरकारी निकायसँग समन्वय गरेर पनि काम गरिरहेका छौं तर गृह मन्त्रालयले भने यस विषयमा खासै ध्यान दिएको छैन ।’
चट्याङबाट हुने क्षति कम गर्न मौसम पूर्वानुमानजस्तै चट्याङ पूर्वानुमान गर्न सकिने उनले बताए । ‘विश्वका अन्य देशमा चट्याङबाट हुने क्षति न्यूनीकरण गर्न सरकार तथा सम्बन्धित निकायले चट्याङ पूर्वानुमानका संयन्त्र स्थापना गरेका हुन्छन्,’ त्यो ९० प्रतिशतसम्म सही हुन्छ,’ विशेषज्ञ शर्माले भने ।
विपद व्यवस्थापन महाशाखाका प्रमुख न्यौपाने स्वयं पनि सरकारले यस विषयमा चासो दिन नसकेको स्वीकार्छन् । ‘चट्याङ विशेषज्ञहरूले भनेजस्तो पूर्वानुमानका यन्त्रहरू हामीले ल्याउन सकेका छैनौं, अन्य विपदमा जस्तो यसमा विशेष काम गरिएको छैन,’ उनले भने, ‘तर सरकारले केही पनि गर्दै नगरेको भने होइन, विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम गरिरहेका छौं, अन्य कार्ययोजना पनि बनिरहेका छन् । कतिपय स्थानमा स्थानीय तह आफैंले यस्ता काम गरिरहेका छन् ।’
प्राकृतिक रुपमा हुने यस्ता घटनाबाट बच्न प्रत्येक घरमा अर्थिङलगायत चट्याङबाट बच्ने यन्त्र जडान गर्नुपर्ने उनले बताए । ‘चट्याङ भनेको प्राकृतिक कुरा हो, कतिबेला पर्छ भन्न सकिँदैन, त्यसैले अब घर–घरमा चट्याङबाट बच्ने संयन्त्र जडान गर्ने योजनामा हामी छौँ,’ उनले भने, ‘अहिले बनिरहेका नयाँ घरमा त भई नै हाल्छन्, पुरानामा पनि त्यस्ता यन्त्र राख्ने तयारीमा छौँ, कार्ययोजना बन्दै छ ।’
बर्खायाम सुरु भएसँगै दैनिक चट्याङ परिरहेको हुन्छ । चट्याङबाट धेरै जनधनको हानि–नोक्सानी हुने, मानिसका आँखामा असर गर्ने, ठूलो आवाजका कारण कानको जाली फुट्ने, घरका सिसा फुट्ने, वन–जंगलमा आगलागी हुने, रूख–बिरुवा मर्ने, जन्तु–जनावरहरू मर्ने जस्ता समस्या उत्पन्न हुन्छ ।
चट्याङ के हो ?
चट्याङ आकाशबाट जमिनतर्फ खस्ने विद्युतीय प्रवाह हो । दुईवटा विद्युतीय चार्जबीचको घर्षणबाट उत्पन्न हुने प्रकाश, ताप र ध्वनिको प्रवाह हो चट्याङ । वर्षायाममा वायुमण्डलमा विपरीत दिशाका तीव्र गतिको वायु एक–आपसमा ठोक्किदा वा घर्षण हुँदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय तरंग उत्पन्न भई खास बाटो बनाएर जान्छ, यसलाई चट्याङ भनिन्छ । यो अचानक हुने विद्युतीय विस्फोटन पनि हो ।
कसरी हुन्छ घर्षण ?
सूर्यको तापक्रमले जमिनको सतहको तापक्रम पनि बढ्छ । यसले गर्दा पृथ्वीको सतहमा रहेको समुद्र, नदी, ताल, महासागर आदिबाट वाष्पीकरण विधिबाट पानीका कण माथितिर उढ्दै जान्छन् । बादल जति–जति माथि पुग्दै गयो, त्यति नै गह्रौ हुँदै जान्छ । र, बादलमा परिणत हुन्छ । यसरी धेरै नै माथि पुगेपछि अत्यधिक चिसोले गह्रौ भएको बादल तलतिर खस्न थाल्छ । यस्तो अवस्थामा तलबाट माथितिर गइरहेका अन्य पानीका कणसँग ठोक्किन पुग्छ र घर्षण उत्पन्न हुन्छ । यसरी तलबाट माथितिर जाने बादलमा हुने ऋणात्मक चार्ज र माथितिरबाट तल झर्ने धनात्मक चार्जबीचको ठक्करले करेन्ट पैदा हुन्छ र चट्याङ पर्छ । बादलभित्रै उत्पन्न हुने घर्षण, बादल बादलबीचको घर्षण र बादल र जमिनबीचको घर्षण गरी चट्याङ तीन तरिकाले पर्छ ।
चट्याङको असर
सामान्यतः चट्याङ लागेका जनावर वा मानिसको मृत्यु हुने गर्छ । तर, चट्याङमा परेर मृत्यु हुनेमात्र होइन, धेरै मात्रामा घाइते पनि हुने गर्छन् । चट्याङ विशेषज्ञ शर्माका अनुसार चट्याङबाट घाइते हुने धेरैमा मानसिक र शारीरिक दीर्घरोग देखा पर्छन् । कोही बेहोस हुन्छन्, कसैको बोली, कान र आँखा बन्द हुने, स्मरणशक्तिमा ह्रास आउने, शरीर लाटो हुने, रिँगटा लाग्ने, जोर्नी कडा हुने, मांसपेसी बाउँडिने र डिप्रेसन हुने जस्ता समस्या देखा पर्छन् ।
बच्ने उपाय
हुन त, चट्याङ प्राकृतिक कुरा हो । कहाँ कहिले पर्छ सजिलै थाहा पाउन सकिँदैन । तर पनि चट्याङ परेका बेलामा केही सावधानी अपनाउन सकियो भने यसको क्षतिबाट बच्न सकिन्छ । चट्याङविद् शर्मा क्षतिबाट बच्च यस्ता सुझाव दिन्छन् :
– पानी परेको समयमा सकभर घरबाहिर ननिस्कने ।
– घरबाहिर भए सकेसम्म चाँडो गरी घरभित्र बस्ने ।
– घरका विद्युतीय सामानहरू जस्तैः टेलिभिजन, रेफ्रिजेरेटर, फोन आदि चट्याङ परेको समयमा प्रयोग नगर्ने ।
– दिनको तीन बजेदेखि राति आठ बजेसम्म चट्याङ बढी पर्ने हुनाले उक्त समयमा बढी सजग हुने ।
– बाहिर भएर घर जान नसक्ने अवस्था भएमा साना–साना रुखहरूको छेवमा रुखको उचाइबराबर पारेर बस्ने ।
– ठूला रुख आसपासमा भए टाढा जाने ।
– चट्याङ लागेर कोही घाइते भए तुरुन्त प्राथमिक स्वास्थ्य केन्द्र लैजाने ।
प्रकाशित समय २०:२१ बजे

















