गृहपृष्ठ सप्तरीमा दिल्लीबाट फर्किएका २ जनामा आरडिटी परीक्षण पोजेटिभ

सप्तरीमा दिल्लीबाट फर्किएका २ जनामा आरडिटी परीक्षण पोजेटिभ

भारतको दिल्लीस्थित निजामुद्दीन मरकजबाट फर्केका दुई नेपालीको र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ आएको छ ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मंगलबार राति द्रुत परीक्षण किटबाट कोरोना परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ आएको सिनियर कन्सल्टेन्ट जनरल फिजिसियन डा. रणजित झाले जानकारी दिए ।

तब्लिगी जमातद्वारा आयोजित सभाबाट आएका खडग नगरपालिकाका तीन, सुरुङ्गा नगरपालिका, अग्निसाइर कृष्ण सवरण, विष्णुपुर र तिलाठी कोइलाडी गाउँपालिकाका एक/एक गरी सात जनाको द्रुत परीक्षण गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा चुमनलाल दासले बताए । तीमध्ये खडग नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका एक/एक जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

उनीहरुले दिल्लीको निजामुद्दीन मरकजमा सहभागी भएर फर्किएको ३२ दिन बितेको बताए पनि स्थानीयवासी भने चैत ११ गते घर फर्किएको बताउँछन् । सप्तरी फर्किएका उनीहरु घरमै बसका थिए । रिपोर्ट पोजिटिभ आएपछि दुई जनालाई राजविराजस्थित अस्पतालमा आइसोलेसनमा राखिएको छ ।

अस्पतालले सात जनाकै स्वाब परीक्षणका लागि राति नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको छ । अन्य पाँच जनालाई खडग नगरपालिकास्थित क्वारेन्टाइनमा पठाएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट दासले बताए ।

प्याकुरेलबाट सामग्री प्रदान

कोभिड–१९ नियन्त्रणमा सहयोग पुर्‍याउन राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलले स्वास्थ्य तथा सुरक्षा सामग्री प्रदान गरेका छन् । स्वास्थ्य संस्थामा सुरक्षा सामग्री अभाव भइरहेका बेला प्याकुरेलले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताललाई छ थान पिपिइ सेट, एक हजार मास्क र १० लिटर स्यानिटाइजर प्रदान गरेका हुन् ।

मंगलबार नै उनले पैत्रिक भूमि छिन्नमस्ता गाउँपालिकाका लागिसमेत एक हजार मास्क र पाँच लिटर स्यानिटाइजर प्रदान गरे । आधारभूत सामग्रीको अभावमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई समस्या नहोस् भनेर व्यक्तिगत तर्फबाट सुरक्षा सामग्री उपलब्ध गराएको जानकारी दिँँदै प्याकुरेलले मुलुक संकटमा परेको बेला सबैले मिलेर सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने बताए । (नानीमैया कटवाल/रासस)

प्रकाशित समय ०८:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु