गृहपृष्ठ प्रदेश २ मा स्वाब संकलनको दायरा बढाइयो
प्रदेश २ मा स्वाब संकलनको दायरा बढाइयो
प्रदेश नं २ कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि स्वाबको नमूना संकलन साथै कन्टयाक्ट ट्रेसिङको दायरा बढाइएको छ । ती दुवै कार्यमा तीव्रता ल्याउन काठमाडौँबाट विशेष टोली यहाँ आइपुगेपछि दायरा बढाइएको हो ।
गत वैशाख ३० र ३१ गते कोरोना पुष्टि भएका ६० जनाको सम्पर्कमा आएका ३७० जनाको क ट्रेसिङको गरी स्वाबको नमूना सङ्कलन कार्य भइरहेको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए । यसका साथै वीरगञ्जबाट फरार भएका दुई संक्रमितमध्येका ४४ वर्षीय एक व्यक्तिमा मोटरसाइकलमा चढेर धुबिनीगाउँ पुगेको जनाइएको छ । सो मोटरसाइकल चालक सहित छ जना आफन्तको पनि स्वाबको संक्रलन गरिने भएको छ । अर्को व्यक्ति कसैको सम्पर्क नआएको बताइएको छ । दुवै जनालाई पक्राउ गरी पुनः भर्ना गरिएको छ ।
राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा बिहीबारदेखि स्वाबको नमूना सङकलन भइरहेको छ । यसका साथै सप्तरीको खड्गपुर, राजगढ र तीलाठी–कोइलाडी गाउँपालिकामा पनि नमूना संकलन गरिनेछ । सर्लाहीका ४५ वर्षीय संक्रमितको सम्पर्कमा आएका तीन जनाको नमूना लिइसकिएको उनले जानकारी गराए । धनुषा र महोत्तरीको जोखिम क्षेत्र पहिचान गरी स्वाब संकलन गरिनेछ ।
सिरहा जिल्लामा भारतबाट लुकीछिपी प्रवेश गर्नेहरुको संख्यामा वृद्धि भइरहेकाले यसतर्फ स्थानीय समुदायलाई निगरानी गर्न र प्रवेश गरेका व्यक्तिलाई नजिकको क्वारेन्टाइनमा राख्न जोड दिइएको छ । प्रदेशमा बिहीबारसम्ममा चार हजार ६०० जनाको स्वाब संकलन गरिएको छ । सोमध्ये तीन हजार ७२९ को रिपोर्ट नेगेटिभ आएको छ भने ७७४ जनाको रिपोर्ट आउन बाँकी छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा ६३ र वीरगञ्जस्थित स्कूलको आइसोलेसनकक्षमा आठ जनाको उपचार भइरहेको सचिव डा घिमिरेले बताए । यस प्रदेशमा हालसम्म ९९ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । पर्सामा सबैभन्दा बढी ८२, रौतहट, बारा र धनुषामा तीन–तीन र महोत्तरी र सर्लाहीमा दुई–दुई कोरोना संक्रमित छन् । अन्य तीन जना भारतीय हुन् । सो संक्रमितमध्ये वीरगञ्जका दुई र जनकपुरका एक गरी तीन सञ्चारकर्मी पनि कोरोनाबाट संक्रमित भएको जनाइएको छ । (रासस)
प्रकाशित समय १४:०५ बजे

















