गृहपृष्ठ विश्वभर २४ लाख ३० हजारभन्दा बढी कोरोना संक्रमित ‘डिस्चार्ज’
विश्वभर २४ लाख ३० हजारभन्दा बढी कोरोना संक्रमित ‘डिस्चार्ज’
संक्रमितको संख्या ५६ लाख ८३ हजार नाघ्यो, २९ लाखको उपचार हुँदै
सांकेतिक तस्बिर
विश्वभर २४ लाख ३० हजारभन्दा बढी कोरोना संक्रमित डिस्चार्ज भएका छन् । बुधबार बिहानसम्म नयाँ संक्रमितको संख्या ९० हजारभन्दा बढी पुगेपछि कूल संक्रमितको संख्या ५६ लाख नाघेको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वभर ५६ लाख ८३ हजार ८०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये तीन लाख ५२ हजार दुई सय व्यक्तिले ज्यान गुमाएका छन् भने २४ लाख ३० हजार ५२८ जनाको सफल उपचार भएको छ । वर्ल्डोमिटरको तथ्यांकअनुसार कूल संक्रमितमध्ये २९ लाख एक हजार ७४ जनाको उपचार भइरहेको छ । त्यसमा पनि ५३ हजारभन्दा बढीको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
विश्वभर सबैभन्दा बढी प्रकोप फैलिएको अमेरिकामा कोरोना संक्रमितको संख्या १७ लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै १९ हजारभन्दा बढी संक्रमित थपिएपछि कूल संक्रमितको संख्या १७ लाख २५ हजार २७५ पुगेको हो । त्यस्तै ज्यान गुमाउनेको संख्या एक लाख ५७२ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये चार लाख ७९ हजार ९६९ जना डिस्चार्ज भइसकेका छन् । त्यस्तै ११ लाख ४४ हजार ७३४ जनाको उपचार भइरहेको छ भने १७ हजार १५८ जनाको अवस्था गम्भीर रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
दोस्रो बढी प्रकोप फैलिएको ब्राजिलमा कोरोना संक्रमितको संख्या तीन लाख ९४ हजार नाघेको छ भने २४ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । त्यस्तै एक लाख ५८ हजारभन्दा बढी डिस्चार्ज भइसकेका छन् भने दुई लाख ११ हजार ३२१ जनाको उपचार भइरहेको छ ।
प्रकाशित समय ०८:१३ बजे

















