गृहपृष्ठ एकै दिन थपिए एक लाखभन्दा बढी नयाँ संक्रमित, ५२ हजार ९७३ जनाको अवस्था ‘चिन्ताजनक’
एकै दिन थपिए एक लाखभन्दा बढी नयाँ संक्रमित, ५२ हजार ९७३ जनाको अवस्था ‘चिन्ताजनक’
विश्वभर मृतकको संख्या तीन लाख ५७ हजार नजिक पुग्यो, २४ लाख ९५ हजार डिस्चार्ज
विश्वभर एकै दिन कोरोना संक्रमित एक लाखभन्दा बढी थपिएका छन् । गएको २४ घण्टामा मात्रै विश्वभर पाँच हजार २८३ जनाको ज्यान गएको छ भने एक लाख ६ हजार ४७५ जना नयाँ संक्रमित थपिएका हुन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या अहिलेसम्म ५७ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या ५७ लाख ८४ हजार ६०३ पुगेको छ । त्यस्तै ज्यान गुमाउनेको संख्या तीन लाख ५६ हजार ९३७ पुगेको छ ।
वर्ल्डोमिटरको तथ्यांकअनुसार कूल संक्रमितमध्ये २४ लाख ९४ हजार ९५६ जनाको सफल उपचार भएको छ भने २९ लाख ३२ हजार ७१० जनाको उपचार भइरहेको स्वास्थ्य संगठनले जनाएको छ त्यस्तै उपचाररतमध्ये पनि ५२ हजार ९७३ जनाको अवस्था गम्भीर रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
सबैभन्दा बढी प्रकोप फैलिएको अमेरिकामा फेरि मृतकको संख्या थपिएको छ । केही दिन यता दैनिक रुपमा पाँच सयको हाराहारीमा नागरिक गुमाउँदै आएको अमेरिकाले फेरि एक हजारभन्दा बढीले ज्यान गुमाउँदै आएका छन् । गएको २४ घण्टामा मात्रै अमेरिकामा एक हजार पाँच सय ३५ जनाले ज्यान गुमाएका छन् भने २० हजार ५४६ जना नयाँ संक्रमित थपिएका छन् ।
अहिलेसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या १७ लाख ४५ हजार नाघेको छ भने एक लाख दुई हजार १०७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै चार लाख ९० हजार १३० जनाको सफल उपचार भएको छ भने ११ लाख ५३ हजार ५६६ जनाको उपचार भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
प्रकाशित समय ०८:१७ बजे

















