गृहपृष्ठ आजदेखि लकडाउन सकियो, सबै सरकारी कार्यालय खुला
आजदेखि लकडाउन सकियो, सबै सरकारी कार्यालय खुला
मानिसको बढी भीडभाड हुने र बढी सहभागिता हुने ठाउँमा कडाइ
गत चैत ११ गतेदेखि नेपालमा सुरु भएको लकडाउन सकिएको छ । लामो समयदेखि बन्द भएका सवारी साधन, कार्यालयलगायतका कुराहरु आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएका छन् ।
मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् ।
कोरोनाको कहरसँगै सुरु भएको लकडाउन ८४ दिनपछि खोल्ने सरकारी निर्णयले जनमानसमा त्रास फैलिएको छ । दैनिक रुपमा ४ सयभन्दा बढी संक्रमित थपिएको बेलामा लकडाउन खुलेपछि नेपाल पनि इटाली, स्पेनजस्तै हुनसक्ने भन्दै धेरैले टिप्पणी गरेका छन् ।
बन्दाबन्दीलाई केही खुकुलो बनाएको सरकारले कोभिड–१९ को जोखिम कम गर्न सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, सहकारी, बीमा सेवा आजबाट सञ्चालन गर्ने निर्णय गरेको हो । यसरी सञ्चालन हुनेमा शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालयसमेत छन् । यी सबै कार्यालय दुई सिफ्टमा सञ्चालन गर्नुपर्ने छ ।
यस्तै सार्वजनिक तथा जोरबिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारीसाधनसमेत आजबाट सञ्चालन हुन पाउने छ । उक्त सवारीमा एक लहरमा एक जना यात्रु मात्रै राख्नुपर्ने छ । यात्रुले अनिवार्य रुपमा मास्क र स्यानेटाइजरको व्यवस्था गर्नुपर्ने तथा सवारीलाई दैनिक निसङ्क्रमित गर्नुपर्ने छ । उक्त सवारीमा आफ्नो कार्यालयमा काम गर्ने मजदूर तथा कर्मचारी मात्रै राख्नुपर्ने छ ।
बन्दाबन्दीलाई खुकुलो बनाए पनि तत्कालका लागि मानिसको बढी भीडभाड हुने र सहभागिता बढी हुने पठनपाठन, अनुमति प्राप्तबाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडान, तोकिएकाबाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमन, सबै प्रकारका तालीम, सेमिनार, सभा, गोष्ठी र भेला, सिनेमा हल, पार्टी प्यालेस डान्सबारलगायतका मनोरञ्जनस्थल, सार्वजनिक पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, स्पा, शैलुन, तथा ब्युटीपार्लर, स्वीमिङपुल, सपिङ मल, समूहमा खेलिने खेलकुद र खेलमैदान, सबै प्रकारका धार्मिक तथा सामाजिकस्थल यात्रुबाहक सवारीसाधन भने सञ्चालन हुने छैनन् ।
अहिलेसम्म नेपालमा संक्रमितको संख्या पाँच हजार ७६० पुगेको छ भने १९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ९७४ जना आइसोलेसनबाट डिस्चार्ज भइसकेका छन् । भने अहिलेसम्म १ लाख ३३ हजार ३७७ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित समय ०८:२० बजे

















