गृहपृष्ठ सुदूरपश्चिममा थप २२१ संक्रमित, संख्या १,८५९ पुग्यो

सुदूरपश्चिममा थप २२१ संक्रमित, संख्या १,८५९ पुग्यो

सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप २२१ जनामा कोरोना पुष्टि भएपछि प्रदेशमा संक्रमितको सङ्ख्या एक हजार ८५९ पुगेको छ ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जाँचमा १८६ जना र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको जाँचमा ३५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

कैलालीमा ३७, कञ्चनपुरमा ४४, डोटीमा ७१, डडेलधुरामा एक, दार्चुलामा तीन, बझाङमा नौ, बाजुरामा २७, बैतडीमा २५ र अछाममा दुई जना थप संक्रमित फेला परेको पुष्टि भएको हो । प्रदेशमा शुक्रबारसम्म सबैभन्दा बढी कैलाली जिल्लामा ५५३ जना संक्रमित पुगेका छन् ।

कञ्चनपुरमा ३०४, अछाम १०८, बैतडी २०२ बझाङ ६५, बाजुरा १२८ डडेलधुरा २१९, दार्चुला १६ र डोटी जिल्लामा २६२ जना सङ्क्रमित पुगेका छन् । प्रदेशमा पीसीआर र आरडीटी पद्धतिबाट बिहीबारसम्म कूल एक लाख १९ हजार ७६१ जनाको जाँच गरिएकोमा प्रभावकारी मानिएको पिसिआर पद्धतिबाट मात्रै १५ हजार ३१९ जनाको जाँच गरिएको छ ।

प्रदेशको एकमात्र प्रयोगशाला सेती प्रादेशिक अस्पतालमा आवश्यक स्वास्थ्य सामग्री, जनशक्तिको अभाव र कम क्षमता भएको मेशिनका कारण धेरै शंकास्पद व्यक्तिको स्वाबको नमूना जाँच गर्न नसकी थन्किएका छन् । पछिल्लो पटक प्रदेशमा संकलन भएको स्वाबको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत पठाउने गरिएको छ ।

संक्रमितमध्ये बिहीबार मात्र विभिन्न जिल्लाका गरी ६८ जना घर फर्किएका छन् । संक्रमितको विभिन्न अस्पतालका साथै स्थानीय तहका आइसोलेसन उपचार भइरहेको छ । अस्पतालको आइसोलेसनमा रहेका १२३ जना रहेकोमा धेरै संक्रमित स्थानीय तहको आइसोलेसनमा छन् । यसबाहेक कोरोनाका शंकास्पद थप १८ जनालाई अस्पतालको आइसोलेसनमा राखिएको छ । प्रदेशमा हालसम्म ५२८ जना सामान्य उपचार पछि घर फर्किएको जनाइएको छ ।

प्रयोगशाला स्थापनामा ढिलाइ

स्वाबको नमूना जाँच गर्न प्रदेशको डोटी र बैतडी जिल्लामा एकरएक प्रयोगशाला र कैलालीमा थप एक प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारले निर्णय गरेको भए पनि उक्त निर्णय कार्यान्वयनमा ढिलाइ भएको छ ।

सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले आगामी दश दिनमा स्वाचालित पिसिआर मेशिनसहित प्रयोगशाला सञ्चालन आउन लागेको जानकारी दिए । ‘मेशिन खरिद प्रक्रिया सकिएर सम्झौता हुने चरणमा पुगेको छ,’ मन्त्री सुवेदीले भने, ‘सञ्चालनमा आउने प्रयोगशालाको एटोमेटिक पिसिआर मेशिनद्वारा स्वाबको नमूना जाँचको दायर बढ्ने छ ।’ पछिल्लो पटक प्रदेश सरकारले स्थानीय तहलाई आइसोलेसनको व्यवस्थापन गर्न बजेटसमेत उपलब्ध गराएको उनले जानकारी दिए । (रासस)

प्रकाशित समय ०७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु