गृहपृष्ठ विश्वभर एकै दिन थपिए एक लाख ८० हजार संक्रमित, मृतकको संख्या पाँच लाख १३ हजार नाघ्यो

विश्वभर एकै दिन थपिए एक लाख ८० हजार संक्रमित, मृतकको संख्या पाँच लाख १३ हजार नाघ्यो

५७ लाख ९४ हजारभन्दा बढी संक्रमित डिस्चार्ज, ४२ लाखभन्दा बढीको उपचार हुँदै

विश्वभर एकै दिनमा कोरोना भाइरसका कारण एक लाख ८० हजारभन्दा बढी संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य सगठनका अनुसार बुधबार बिहानसम्म कूल संक्रमितको संख्या एक करोड पाँच लाख ८३ हजार ९३२ पुगेको छ ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार भाइरसका कारण ज्यान गुमाउनेको संख्या पनि पाँच लाख १३ हजार नाघेको छ । एकै दिनमा पाँच हजारभन्दा बढी संक्रमितको ज्यान गएपछि मृतकको संख्या पाँच लाख १३ हजार ८६१ पुगेको हो । त्यस्तै ५७ लाख ९४ हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् भने ४२ लाखभन्दा बढीको उपचार भइरहेको छ ।

सबैभन्दा बढी प्रकोप फैलिएको अमेरिकामा २७ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । गएको २४ घण्टामा मात्रै अमेरिकामा ४६ हजारभन्दा बढी संक्रमित थपिएपछि संक्रमितको संख्या २७ लाख २७ हजार ८५३ पुगेको हो । त्यस्तै अहिलेसम्म एक लाख ३० हजार १२२ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकामा प्रकोप फैलिए यता ११ लाख ४३ हजार संक्रमितले कोरोना जितेका छन् भने १४ लाख ५४ हजारभन्दा बढीको उपचार भइरहेको छ । त्यसमा पनि उपचाररत् १५ हजार ९३५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ ।

ब्राजिलमा पनि कोरोना संक्रमितको संख्या १४ लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै ३७ हजारभन्दा बढी थपिएपछि कुल संक्रमितको संख्या १४ लाख आठ हजार ४८५ पुगेको हो । त्यस्तै ब्राजिलमा ज्यान गुमाउनेको संख्या ५६ हजार ६५६ पुगेको छ । त्यस्तै सात लाख ९० हजारभन्दा बढीले कोरोना जितेका छन् भने पाँच लाख ५८ हजारभन्दा बढीको उपचार भइरहेको छ ।

प्रकाशित समय ०७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु