गृहपृष्ठ कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ५५० पुग्यो

कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ५५० पुग्यो

कर्णालीमा कोरोना सङ्क्रमण नियन्त्रणमा आएको छैन । दिनहुँ संक्रमित बढिरहे पनि भौतिक दूरी कायम गरेर दैनिक कामकाज गर्न सरकारले दिएको निर्देशनप्रति सर्वसाधारणले ध्यान दिएको देखिँदैन । यसले गर्दा पनि कोरोना संक्रमण हुने संख्या नियन्त्रण हुन सकेको छैन ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको बुधबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको गरेको पीसीआर परीक्षणमा सुर्खेतका १३, दैलेख र मुगुका दुई÷दुई जनामा कोराना संक्रमण पुष्टि भएको छ । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरेको पिसीआर परीक्षणमा दैलेखका तीन जनामा संक्रमण देखिएको छ ।

विभिन्न जिल्ला गरेर बुधबार २० नयाँ कोरोना संक्रमित थपिएका छन् । यससँगै कर्णालीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ५५० पुगेको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यद्यपि संक्रमित सबैको अवस्थामा भने सामान्य भएको महाशाखा प्रमुख डा तिवारीले बताए ।

त्यसैगरी कोरोना सङ्क्रमण निको भएर घर फर्कने संख्या पनि कर्णालीमा दिनहुँ बढिरहेको उनले जनाए । उनका अनुसार बुधबार चौरजहारी अस्पताल रुकुपश्चिमबाट दुई, सल्यान अस्पतालबाट पाँच, सालकोट आइसोलेसन सुर्खेतबाट एक र चौकुने आइसोलेसन सुर्खेतबाट चार महिलासहित आठ गरी १६ जना कोरोना मुक्त भएका छन् । योसँगै कर्णालीमा कोरोना निको भएर घर फर्कनेको संख्या एक हजार २९१ पुगेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

प्रदेश अस्पतालका चिकित्सकमा संक्रमण

प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा कार्यरत दुई चिकित्सकसहित चार स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ । आइसोलेसनमा ड्युटी सकेर क्वारेन्टिनमा बसेका दुई मेडिकल अधिकृतको स्वाब परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएको अस्पतालले जनाएको छ । यसअघि असार ११ गते त्यहाँ कार्यरत विशेषज्ञ चिकित्सकसहित नौ स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको थियो ।

अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार अन्य दुई स्वास्थ्यकर्मी स्टाफ नर्स र सिनियर अहेब हुन् । मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले आइसोलेसनमा २५३ जनाको उपचार भइरहेको जानकारी दिए ।

प्रकाशित समय ०७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु