गृहपृष्ठ सुदूरपश्चिममा कोरोना संक्रमित तीन हजार ७१७ पुगे
सुदूरपश्चिममा कोरोना संक्रमित तीन हजार ७१७ पुगे
सुदूरपश्चिम प्रदेशमा बुधबार थप ६७ जनमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि प्रदेशमा कूल संक्रमित तीन हजार ७१७ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र सेती प्रादेशिक अस्पतालमा गरिएको नमूना परीक्षणमा कैलाली, कञ्चनपुर, अछाम, बझाङ, बैतडी, दार्चुला र डोटी जिल्लाका गरी थप ६७ जनामा कोरोना भइरसको संक्रमण भएको पुष्टि भएको बताए ।
प्रदेशको राजधानी जिल्ला कैलालीमा सबैभन्दा बढी ९८६ संक्रमित पुगेका छन् । योसँगै कैलाली जिल्ला देशभरमै सम्भतः सबैभन्दा बढी कोरोना संक्रमित जिल्लाका रूपमा देखिएको छ । यसैगरी बुधबारसम्म कञ्चनपुरमा ४४०, डोटीमा ५३३, डडेलधुरामा २६९, बाजुरामा ४४४, बैतडीमा २९७, बझाङमा १४३, अछाममा ५८७ र दार्चुलामा १८ संक्रमित पुगेका छन् । बुधबार मात्रै अछामबाट ५५ डिस्चार्ज भई घर फर्किएका छन् । यो समेत गरेर प्रदेशमा हालसम्म ९९३ डिस्चार्ज भई घर फर्किसकेका छन् ।
कोभिड–१९को संक्रमणका कारण सुदूरपश्चिम प्रदेशमा हालसम्म सात जनाको मृत्यु भएको छ । पछिल्ला केही दिनयता प्रदेशमा संक्रमित हुनेको संख्या दैनिक घट्दै गएको देखिएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार असार १९ गते सबैभन्दा बढी ४८४ जनामा र असार १८ गते ३३३ जनामा संक्रमण देखिएको पुष्टि भएकामा त्यसयताका दिनमा संक्रमित फेला पर्ने संख्या घट्दै गएको छ ।
जबकी असार २० देखि २४ गतेसम्मको चार दिनको अवधिमा जम्मा ३०४ मा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । संक्रमित हुनेमध्ये सबैभन्दा बढी २० देखि २९ वर्ष उमेरका युवायुवती एक हजार २६९ पुगेका छन् । यस्तै नौ वर्षसम्मका १६९ बालबालिका संक्रमित भएका छन् । यद्यपि कोरोना संक्रमणको जोखिम अझै यथावत रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।
प्रदेशमा पहिलोपटक गएको चैत १४ गते पहिलो कोरोना संक्रमित भेटिएका थिए । वैशाख महिना सुरु हुँदासम्म पाँच संक्रमित फेला परेकामा त्यसपछि झण्डै एक महिनासम्म नयाँ संक्रमणको दर स्थिर देखिएको थियो । हालसम्म पीसीआर पद्धतिबाट २४ हजार ८८४ को स्वाबको नमूना जाँच भइसकेकामा एक हजार २०३ नमूनाको नतिजा आउन बाँकी छ । यस्तै आरडिटी पद्धतिबाट हालसम्म एक लाख १७ हजार १६८ नमूनाको जाँच भइसकेको छ । बन्दबन्दी खुकुलो पारिएसँगै सर्वसाधारणको चहलपहल र भीडभाड बढ्दै जाँदा रोगको जोखिम पनि बढ्ने देखिएको कतिपयको बुझाइ छ । (रासस)
प्रकाशित समय १०:४८ बजे

















