गृहपृष्ठ सुदूरपश्चिम कोरोना : संक्रमित बढ्दै, क्वारेन्टिन हटाइँदै

सुदूरपश्चिम कोरोना : संक्रमित बढ्दै, क्वारेन्टिन हटाइँदै

सुदूरपश्चिममा भारतबाट दैनिक सात सयभन्दा बढी व्यक्ति भित्रँदै

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ४ हजारको हाराहारी पुगेको छ । १४ चैत्रमा पहिलो पटक सुदूरपश्चिममा एक जनामा संक्रमण देखिएकोमा ४ महिनाको अवधिमा संक्रमितको संख्या ४ हजारको हाराहारीमा पुगेका छन् । प्रदेशका पछिल्लो समय परीक्षणको दायरा बढेसँगै संक्रमितको संख्या पनि बढेको हो ।

भारतबाट आउने क्रम जारी
कैलालीको त्रिनगर नाका हुँदै भारतबाट दैनिक ७ सयको हाराहारीमा नागरिकहरू आइरहेका छन् । केही दिन अघि डेढ सयको हाराहारीमा मात्रै नागरिक आइरहेकोमा यो क्रम क्रमशः बढ्दै गइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

त्रिनगर नाकाबाट मात्रै हैन प्रदेशका अन्य नाका गड्डाचौकी, धार्चुला र झुलाघाट नाकाबाट पनि दैनिक जसो नेपालीहरु स्वदेश फर्किरहेका छन् । भारतबाट लक डाउन अवधिमै करिब २ लाखको हाराहारीमा नागरिक सुदूरपश्चिम प्रदेश हुँदै नेपाल भित्रिएका थिए ।

रित्याइँदै क्वारेन्टिन
एक महिनाअघि मात्रै ६६ हजार बढी नागरिक सुदूरपश्चिमका क्वारेन्टिनमा थिए । तर त्यो संख्या अहिले ह्वात्तै घटेको छ । क्वारेन्टिनमा रहेकाहरूलाई कसैलाई १४ दिन पुग्ने बित्तिकै परीक्षणबिनै घर पठाइयो भने कसैलाई आरडीटी परीक्षणकै भरमा ७/८ दिनमै घर पठाइयो ।

अहिले क्वारेन्टिनमा ५ हजारको हाराहारीमा मात्रै नागरिक क्वारेन्टिनमा रहेको प्रदेश स्वास्थ्य निर्देशक डा.गुणराज अवस्थीले बताए । क्वारेन्टिन रित्तिने क्रम बढ्दै गइरहेको उनले बताए ।

अब क्वारेन्टिनमा नराख्ने
भारतबाट आएर सात दिन धनगढी ३ बोराडाँडीको क्वारेन्टिनमा बिताएका धनगढी चटकपुरका मुकेश शाहीलगायतका ५ जनालाई बिहीबार क्वारेन्टिनको अवधि नपुग्दै ७ दिनमै परीक्षण बिनै घर पठाइयो । घर जाँदै गर्दा उनले भने, ‘हाम्रो आरडीटी परीक्षणमात्रै भयो, पीसीआर परीक्षण गर्न माग ग¥यौं भएन । हामीले बरु केही दिन अझ क्वारेन्टिनमा बस्छौं । तर, पीसीआर परीक्षण गरेर मात्रै पठाउन भन्यौं, तर एक सातामै घर जानु प¥यो ।’

स्वास्थ्य परीक्षण गरेर घर पठाएको भए निर्धक्कसँग घर जान सकिने अवस्था भए पनि त्यस्तो नहुँदा निकै डर लागिरहेको उनको भनाई छ । उनीसँगै घर फर्किरहेका धनगढी बोराडाँडीका नारद धामीले आफूहरूको स्वास्थ्य परीक्षण नहुँदा मनमा डर लागिरहेको गुनासो गरे ।

वडा नम्बर ३ मा रहेको त्रिनगर विद्यालयको क्वारेन्टिनमा १३७ जना रहेकोमा बुधवार बाँकी रहेका ५ जनालाई घर पठाइएको छ । अन्यलाई यस अघि नै घर पठाइसकिएको थियो । योसँगै अब क्वारेन्टिन खाली भएको छ । अब आउने नागरिकलाई होम क्वारेन्टिनमा राखिने वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐरले बताए ।

संक्रमित फेला पर्ने क्रम पनि घट्दै गइरहेको छ । तर, स्थिति केही सहज बनिरहेको अवस्थामा यहाँका स्थानीय तह भने अब आउने नागरिकलाई क्वारेन्टिनमा राख्न नसकिने भन्दै फेरि असहज स्थिति सिर्जना गर्न खोजिरहेका छन् ।

कैलालीको गौरीगंगा नगरपालिकाका नगरप्रमुख भीमबहादुर देउवाले भने, ‘अहिले क्वारेन्टिनमा रहेकालाई प्रक्रिया पु¥याएर घर पठाउने काम भइरहेको छ, हुन त भारतबाट नागरिकहरू त आइनै रहेका छन् । तर, अब आउनेहरूलाई क्वारेन्टिनमा राख्न सक्ने अवस्था छैन ।’ उनले थपे, ‘अब विद्यालय पनि खोल्ने तयारीमा छौं, त्यसैले विद्यालयमा रहेका क्वारेन्टिनहरु खाली गराइरहेका हौं, अब भारतबाट आउनेहरूलाई होम क्वारेन्टिनमा बस्न भनेका छौं ।’

समुदायमा संक्रमण फैलिने खतरा
सुदूरपश्चिमका क्वारेन्टिनमा रहेका नागरिकहरूलाई धमाधम घर पठाउन थालिएको छ । १४ दिन क्वारेन्टिनको अवधि तोकिएको भए पनि स्वास्थ्य परीक्षणबिनै ७/८ दिनको अवधिमै नागरिकहरूलाई घर पठाइँदै छ । क्वारेन्टिन खाली बनाएर अब आउने नागरिकहरूलाई सिधै घर पठाउने तयारीमा स्थानीय तहहरु छन् । जसले गर्दा कोरोनाको संक्रमण भयावह बन्ने खतरा बढेको छ । धनगढी उपमहानगरपालिकाले मात्रै हैन प्रदेशका सबै जसो स्थानीय तहहरुले क्वारेन्टिन खाली गर्न थालेका छन् । प्रदेश स्वास्थ्य निर्देशक डा.गुणराज अवस्थीका अनुसार क्वारेन्टिन खाली गर्ने विषयमा हामीहरुसँग कुनै सल्लाह भएको छैन ।

अब भारत वा अन्य देशबाट आउने स्थानीयहरूलाई सम्बन्धित स्थानीय तहकै क्वारेन्टिनमा राख्न उनले आग्रह गरे । संक्रमण दर घट्दै गइरहेको अवस्थामा स्थानीयहतहरुमा भइरहेको यो लापरबाहीले ठूलो जोखिम निम्ताउन सक्ने खतरा बढाएको छ । उनले भने, ‘भारतबाट नागरिक आउने क्रम क्रमशः बढ्दै गइरहेको अवस्थामा चाल्न लागेको स्थानीय तहको यो कदम उचित छैन, यसले निम्त्याउने जोखिमको भागेदार को हुन् ?’ उनले थपे, ‘अब क्वारेन्टिनमा नबसाउनु भनेको जोखिम फैलाइनु हो । यस्तो काम कसैबाट हुनुहुँदैन । प्रदेशका ८८ वटै स्थानीय तहहरुले सम्बन्धित क्वारेन्टाइनमा नागरिकहरूलाई मापदण्डअनुसार राख्नु पर्दछ ।’

प्रकाशित समय १०:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु