गृहपृष्ठ कागेश्वरी मनोहरामा लायन्स क्लबको रक्तदान कार्यक्रम, ११८ पिन्ट रगत संकलन
कागेश्वरी मनोहरामा लायन्स क्लबको रक्तदान कार्यक्रम, ११८ पिन्ट रगत संकलन
लाइन्स क्लब अफ काठमाडौँ लर्डबुद्धले आयोजना गरेको रक्तदान कार्यक्रममा ११८ जनाले रक्तदान गरेका छन् । लाइन्स क्लब इन्टरनेसनल ३२५ बी१ नेपालअन्तर्गतको लाइन्स क्लब अफ काठमाडौँ लर्डबुद्धले शनिबार काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ७, हातेमालो टोलमा गरेको रक्तदान कार्यक्रममा ११८ जनाले सहभागिता जनाएका हुन् ।
क्लबले ‘रक्तदान जीवनदान’ मूल नारासहित कार्यक्रम गरेको अध्यक्ष लक्ष्मीप्रसाद कट्टेलले जानकारी दिए । ‘बाढीपहिरोपीडितका साथै विभिन्न कारणले रगतको अभाव झेलिरहेका तथा कोरोनाभाइरस संक्रमणका कारण रक्तदान कार्यक्रम आयोजना हुन नसक्दा अस्पतालहरूमा रगतको अति अभाव भएको तथा बिरामीहरूले रगत नपाइरहेको अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम गरेका हौँ,’ उनले भने, ‘रक्तदाताहरूको उत्साहजनक सहभागिताप्रति कृतज्ञ छौँ ।’ कार्यक्रममा क्लबका अन्य सदस्यहरू र स्थानीय बासिन्दाको सहयोग महत्वपूर्ण रहेको उनले बताए ।
रक्तदान कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालका साथै लाइन्सका अग्रजहरू बालकृष्ण बुर्लाकोटी, राजन लम्साल, मनबहादुर रोका, विष्णुप्रसाद भण्डारीलगायतको उपस्थिति थियो । कार्यक्रमको सहआयोजकमा संगम हातेमालो समाज र ज्येष्ठ आइडोलोजी बचत तथा ऋण सहकारी संस्था रहेका थिए ।
रक्तदानका साथै लायन्स क्लबले ट्रि गार्डसहित वृक्षारोपण कार्यक्रम पनि गरेको अध्यक्ष कट्टेलले जानकारी दिए । उनी करिब चार वर्षदेखि लायन्स क्लबमा आबद्ध रही सामाजिक कार्यहरूमा अग्रसर छन् ।
लायन्स क्लबले विगतदेखि नै सामाजिक कार्यहरु गर्दै आएको छ । क्लबले विगत वर्षहरूमा गुल्मी, अर्घाखाँची, उदयपुर, दोलखालगायतका जिल्लामा बृहत् स्वास्थ्य शिविरहरू आयोजना गरिसकेको छ । ती शिविरमा ६ हजार २०० भन्दा बढीले सेवा लिएका थिए । गुल्मीमा आयोजित स्वास्थ्य शिविरमा २ हजार ५ सय, अर्घाखाँचीमा १ हजार ७००, उदयपुरमा ८०० र दोलखामा १ हजार २०० जनाले स्वास्थ्य सेवा लिएको अध्यक्ष कट्टेलले जानकारी दिए ।
प्रकाशित समय २१:२७ बजे


















