गृहपृष्ठ कोरोनाबाट ‘डिस्चार्ज’ हुनेको संख्या एक करोड ४० लाख, साढे ६४ हजारको अवस्था ‘चिन्ताजनक’
कोरोनाबाट ‘डिस्चार्ज’ हुनेको संख्या एक करोड ४० लाख, साढे ६४ हजारको अवस्था ‘चिन्ताजनक’
विश्वभर संक्रमितको संख्या दुई करोड १० लाख नाघ्यो, सात लाख ५३ हजारको मृत्यु
विश्वभर कोरोना भाइरसलाई जितेर घर फर्कनेको संख्या एक करोड ४० लाख नजिक पुगेको छ । गएको २४ घण्टामा मात्रै करिब ६ हजार जनाले भाइरस जितेर घर फर्केपछि डिस्चार्ज हुनेको संख्या एक करोड ३९ लाख १७ हजार ८२७ पुगेको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड १० लाख ६७ हजार ५२० पुगेको छ । गएको २४ घण्टामा मात्रै दुई लाख ९३ हजार जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै अहिले ६३ लाख ९६ हजार २०० को उपचार भइरहेको छ । उपचार भइरहेकामध्ये पनि साढे ६४ लाख संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको स्वास्थ्य संगठनले जनाएको छ ।
सबैभन्दा बढी प्रकोप फैलिएको अमेरिकामा कोरोना संक्रमितको संख्या ५४ लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै अमेरिकामा ५५ हजार ३६४ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५४ लाख १५ हजार ६६६ पुगेको हो । त्यस्तै ज्यान गुमाउनेको संख्या पनि एक लाख ७० हजार ४१५ पुगेको छ ।
बिहीबार मात्रै अमेरिकामा एक हजार २८४ जनाले ज्यान गुमाएका छन् । त्यस्तै २८ लाख ४३ हजार २०४ जनाको सफल उपचार भएको छ भने २४ लाख दुई हजार ४७ जनाको उपचार भइरहेको अमेरिकी स्वास्थ्य विभागले जनाएको छ । ब्राजिलमा पनि कोरोना संक्रमितको संख्या ३२ लाख २९ हजार पुगेको छ भने ज्यान गुमाउनेको संख्या एक लाख पाँच हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै ब्राजिलमा एक हजार ३०१ जनाको ज्यान गएपछि मृत्यु हुनेको संख्या एक लाख पाँच हजार ५६४ पुगेको हो ।
छिमेकी राष्ट्र भारतमा पनि कोरोनाको कहर फैलँदै गएको छ । गएको २४ घण्टामा मात्रै भारतमा ६४ हजार १४२ जनामा कोरोना संक्रमण देखिएको थियो । अहिलेसम्म संक्रमितको संख्या २४ लाख ५९ हजार ६१३ पुगेको भारतीय स्वास्थ्य विभागले जनाएको छ । बिहीबार मात्रै भारतमा एक हजार ६ जनाले ज्यान गुमाए । अहिलेसम्म भारतमा ज्यान गुमाउनेको संख्या ४८ हजार १४४ पुगेको छ ।
प्रकाशित समय ०९:३३ बजे

















