गृहपृष्ठ वीरगञ्जमा एक वृद्धको कोरोनाबाट मृत्यु, पर्सा र बारामा थपिए २३ नयाँ संक्रमित
वीरगञ्जमा एक वृद्धको कोरोनाबाट मृत्यु, पर्सा र बारामा थपिए २३ नयाँ संक्रमित
पछिल्लो समय कोरोनाभाइरस संक्रमणको हटस्पट बनेको पर्सा जिल्लामा संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सङ्क्रमणका कारण नारायणी अस्थायी कोभिड अस्पताल गण्डक वीरगञ्जमा उपचार गराइरहेका एक ६० वर्षीय विरद्धको मृत्यु भएको हो ।
उच्च रक्तचाँप, मधुमेह रोगी उनी पक्षाघातको समस्याबाट पनि ग्रसित थिए । उनको शुक्रबार राती अस्पतालको अईसियु कक्षमा उपचारको क्रममा मृत्यु भएको कोभिड अस्पतालका इन्चार्ज डा। उदयनारायण सिंहले जानकारी दिए ।
वीरगञ्ज महानगरपालिका १२ मुर्ली घर भएका उक्त पुरुषलाई श्रावन २७ गते कोरना पुष्टि भएपछि भर्ना गरिएको थियो । भर्ना गर्दा उनको अवस्था गम्भीर रहेको डा. सिंहले बताए ।
‘उहाँलाई भर्ना गर्दा उनको अवस्था चिन्ताजनक थियो,’ डा. सिंहले भने ‘भर्ना भएकै दिन उनलाई हामीले आइसीयुमा राखेर उपचार सुरु गरेका थियौं, हिजो दिउँसो उनलाई गाह्रो भएपछि भेन्टिलेटरमा राखी उपचार सुरु गर्यौं तर बचाउँन सकेनौं ।’ उनको शव व्यस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको डा. सिंहले जानकारी दिए ।
थप २३ जनामा संक्रमण पुष्टि
पर्सामा २१ र बारामा २ जनागरी थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोशालामा साउन २६ गतेदेखि ३० गतेसम्म विभिन्न स्थानबाट जम्मा गरेर ल्याइएको स्वाबलाई पीसीआर प्रविधिमार्फत् परीक्षण गर्दा थप २३ जनामा संक्रमण पुष्टि भएको हो ।
११ वर्षदेखि ६० वर्ष उमेर समूहका संक्रमितहरुमा ७ जना महिला पनि रहेका छन् । थपिएका संक्रमितमध्ये केही अस्पतालका कर्मचारी, सरकारी वकिलको कार्यालयका कर्मचारी, बैंकर र होटलका कर्मचारी पनि रहेको अस्पताल प्रयोशालाले जनाएको छ ।
संक्रमितमध्ये २ जना नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर हस्पिटलमा हाउस किपिङका स्टाफ रहेका छन् । त्यस्तै नारायणी वयोधा हस्पिटल वीरगञ्जका एक जना हाउस किपिङ स्टाफ र एक जना क्यान्टिनमा कार्यरत स्टाफसहित दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा एक जना उच्च सरकारी वकिलको कार्यालयका खरिदार पनि रहेका छन् । त्यसैगरी स्वाब लम्बन लघुवित्त वित्तीय संस्थाका एक जना सह प्रबन्धक, जितपुरसिमरा उपमहानगरपालिकास्थित नेपाल इन्भेस्टमेन्ट बैंक जीतपुर शाखाका एक जना कर्मचारीमा पनि संक्रमण देखिएको नारायणी अस्पतालले जनाएको छ । त्यस्तै वीरगञ्जमा रहेका संक्रमितहरुलाई खाना खुवाउने जिम्मा लिएको हिमाल भान्छा घरका एक जना कर्मचारीमा पनि संक्रमित भएका छन् ।
वीरगञ्ज महानगरपालिकाको ६ माइस्थानका एक जना १९ वर्षीय पुरुष र एक जना ४० वर्षीय महिलागरी २ जना सङ्क्रमित भएका छन् भने वडा नं २ छापकियाँ २ की एक जना २६ वर्षीय महिला संक्रमित भएकी छन् । त्यस्तै वडा नं १३ राधेमाईका एक जना ४२ वर्षीय पुरुष, वडा नं. १५ भिस्वाका र लक्षुमनवा ३० र ६० वर्षीय पुरुषगरी २ जना, वडा नं. १६ नगवाकी एक जना ४२ वर्षीय महिला, वडा नं. १८ भवानीपुरका ३० र ५५ वर्षका गरी २ जना पुरुष, वडा नं. २० अपौनी र हरपतगञ्जकी ११, ३५ र ६५ वर्षीय महिला र एक जना ५३ वर्षीय पुरुषगरी ४ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै परवानीपुरका एक जना र वीरगञ्जकै वडा नं. नखुलेका ४ जनामा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै पर्साको पर्सागढी नगरपालिका ८ का एक जना २३ वर्षीय पुरुष र बारा जिल्लाको कलैया उपमहानगरपालिका १२ की ४१ वर्षीया महिला र जितपुरसिमरा उपमहानगरपालिकाका एक २८ वर्षीय पुरुषगरी २ जनामा सङ्क्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिनटेन्डन्ट डा. मदनकुमार उपाध्यायले बताए ।
प्रकाशित समय ११:३६ बजे

















