गृहपृष्ठ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ लाख १२ हजार नाघ्यो
कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ लाख १२ हजार नाघ्यो
विश्वभर एकै दिनमा दुई लाख १० हजार जनामा भाइरस पुष्टि, ६१ हजार संक्रमितको स्वास्थ्य अवस्था चिन्ताजनक
फाइल तस्बिर ।
विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या आठ लाख १२ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै विश्वभर साढे चार हजारको ज्यान गएपछि मृत्यु हुनेको संख्या आठ लाख १२ हजार ४०७ पुगेको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमितको संख्या पनि दुई करोड ३५ लाख नाघेको छ । आइतबार मात्रै विश्वभर दुई लाख १० हजार जनामा भाइरस पुष्टि भएपछि कुल संक्रमितको संख्या दुई करोड ३५ लाख ८१ हजार ६१३ पुगेको हो । त्यस्तै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या पनि एक करोड ६० लाख नाघेको छ ।
कुल संक्रमितमध्ये ६६ लाख ९० हजार ४७१ जनाको उपचार भइरहेको छ भने एक करोड ६० लाख ७८ हजार ७३५ जना उपचारपछि घर फर्किएका छन् । उपचाररतमध्ये पनि ६१ हजार ५०६ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ८० हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै अमेरिकामा ४३० जनाले ज्यान गुमाएका छन् भने ३२ हजार ७१८ जनामा संक्रमण देखिएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ५८ लाख ७४ हजार १४६ पुगेको हो ।
त्यस्तै अहिलेसम्म ३१ लाख ६७ हजारकोृ सफल उपचार भएको छ भने २५ लाख २६ हजारको उपचार भइरहेको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या ३६ लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै २३ हजार जनामा संक्रमण देखिएको थियो ।
त्यस्तै अहिलेसम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या एक लाख १४ हजार नाघेको छ । आइतबार मात्रै ब्राजिलमा ४९५ जनाले ज्यान गुमाएका थिए ।
प्रकाशित समय ०९:२४ बजे

















