गृहपृष्ठ प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो

प्रदेश ५ मा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार १०१ पुगेको छ । जसमध्ये एक हजार २९७ जना सक्रिय संक्रमितको रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये करिब १५ प्रतिशतमा कोरोना भाइरसको लक्षण देखिएको छ ।

प्रदेश ५ मा शुक्रबार ७२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । तीमध्ये ३९ पुरुष र ३३ महिला रहेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी रुपन्देहीमा ५२, बाँकेमा १५, रोल्पामा ३, कपिलवस्तु र नवलपरासी पश्चिममा १÷१ जना रहेका छन् । प्रदेशमा चार हजार सात सय तीन जना संक्रमणमुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ ।

प्रदेशमा १०४ जनाको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ जसमध्ये १६ जना आइसीयूमा उपचाररत छन् । तीमध्ये २ जनालाई भेन्टिलेटरमा राखिएको छ । उनीहरुको अवस्था चिन्ताजनक रहेको सूचना अधिकारी पौडेलले बताए । बुटवलको कोरोना अस्पतालमा २०, भीम अस्पताल भैरहवामा १७, सुशील कोइराला अस्पताल बाँकेमा ३१ र बेलझुण्डी दाङको अस्पतालमा ३६ संक्रमितको सामान्य अवस्थामा उपचार भइरहेको छ ।

सूचना अधिकारी पौडेलकाअनुसार संक्रमण देखिएका ८७ जना अझै पनि क्वारेन्टिनमै छन् । उनीहरुलाई आइसोलेशनमा लैजाने तयारी भइरहेको छ । शुक्रबारसम्म एक हजार ४७६ जना क्वारेन्टिनमै बसेका छन् । अहिलेसम्म ९७ हजार ५९१ जनाको पीसीआर परीक्षण गरिएकोमा ९४ हजार ६१९ जनाको नतिजा आएकोमा ६ हजार १०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दुई हजार ९७२ जनाको स्वाब परीक्षण हुने क्रममा छ ।

प्रकाशित समय ११:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु