गृहपृष्ठ विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड नजिक, दुई करोड १५ लाख संक्रमित डिस्चार्ज
विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड नजिक, दुई करोड १५ लाख संक्रमित डिस्चार्ज
अहिलेसम्म ९ लाख ३९ हजार संक्रमितको ज्यान गयो, ६० हजार ९१२ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक
विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड नजिक पुगेको छ । गएको २४ घण्टामा मात्रै दुई लाख ८३ हजार जनामा नयाँ संक्रमण देखिएपछि कुल संक्रमितको संख्या दुई करोड ९७ लाख २२ हजार ४७८ पुगेको हो ।
त्यस्तै अहिलेसम्म ९ लाख ३९ हजार १२९ जनाले ज्यान गुमाएका छन् । मंगलबार मात्रै ६ हजार पाँच सय जनाले ज्यान गुमाएका थिए । त्यस्तै अहिलेसम्म दुई करोड १५ लाख ३७ हजार संक्रमित डिस्चार्ज भएका छन् भने ७२ लाख ४६ हजार संक्रमितको उपचार भइरहेको छ ।
सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा ६७ लाख ८८ हजार १४७ जनामा संक्रमण देखिएको छ । गएको २४ घण्टामा मात्रै ३६ हजार ४४७ जनामा संक्रमण देखिएको हो । त्यस्तै एकै दिनमा मात्रै अमेरिकामा एक हजार १९७ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या दुई लाख नाघेको छ । त्यस्तै ४० लाख ६८ हजारको सफल उपचार भएको छ भने २५ लाख १९ हजारको उपचार भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
विश्वमा सबैभन्दा बढी दोस्रो संक्रमित भएको मुलुकको रुपमा देखिएको भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै ९१ लाख १२० जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ५० लाख १८ हजार ३४ पुगेको छ ।
भारतीय स्वास्थ्य विभागका अनुसार अहिलेसम्म ८२ हजार ९१ जनाको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै एक हजार २८३ जनाको ज्यान गएको बताइएको छ । त्यस्तै ३९ लाख ३९ हजार संक्रमितको सफल उपचार भएको छ भने ९ लाख ९६ हजार ८३२ जनाको उपचार भइरहेको छ ।
प्रकाशित समय ०९:२९ बजे

















