गृहपृष्ठ होम आइसोलेसन बस्नेहरुबाटै संक्रमणको जोखिम

होम आइसोलेसन बस्नेहरुबाटै संक्रमणको जोखिम

अस्पतालभन्दा होम आइसोेलेसनमा बढी संक्रमित

सुर्खेत जिल्लाभर आइतबारसम्म जम्मा २७३ जना कोरोनाभाइरस (कोभिड–१९) का संक्रमित छन् । जसमध्ये १०३ जना मात्रै विभिन्न अस्पताल तथा स्थानीय तहका आइसोलेसनहरुमा छन् । बाँकी १६९ जना होम आइसोलेसनमा बस्दै आएका छन् ।

कुल संक्रमितको आधा संख्याभन्दा बढी होम आइसोलेसनमा बस्दै आएका छन् । सुर्खेत जिल्लाका विभिन्न स्थानमा मात्रै १६९ जना तथा रुकुममा १ जना गरी प्रदेशभर १७० जना होम आइसोलेसनमा छन् । वीरेन्द्रनगर आइसोलेसनमा १६१ जना, भेरीगंगा नगरपालिका होम आइसोलेसनमा ५ जना, सिम्ता गाउँपालिका होम आइसोलेसनमा ३ जना गरी १६९ जना सुर्खेत जिल्लाभर होम आइसोलेसनमा बस्दै आएका छन् ।

प्रदेशका अन्य जिल्लाको हकका रुकुमका त्रिवेणी गाउँपालिका होम आइसोलेनमा एक जनाबाहेक अन्य जिल्लाका संक्रमितहरु भने स्वास्थ्यकर्मीहरुको निगरानीमा रहेको प्रदेश स्वास्थ्य सेवा कार्यालयको तथ्यांक छ । अस्पताल तथा स्थानीय तहले निर्माण गरेको आइसोलेसनमा भने जम्मा १०३ जना बस्दै आएका छन् । अस्पताल तथा स्थानीय तहका आइसोलेसनमा बसेकाहरु स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुको निगरानीमा बस्दै आएका छन् । तर, होम आइसोलेसनमा बसेकाहरुको निगरानी भने गरिएको छैन । उनीहरु आफैं अनुशासित भएर बसेको खण्डमा बाहेक उनीहरुलाई निगरानी गर्ने नगरिएको हो ।

सरकारले कोरोना संक्रमितलाई निगरानीको मापदण्डबिनै घरमै बस्नुस् भने पनि संक्रमणको जोखिम भएको नागरिक अगुवा पिताम्बर ढकालले बताए । उनले आरटी–पीसीआर नगरेरै आइसोलेसनबाट संक्रमितलाई घर पठाउँदासमेत अर्को जोखिम बढेको बताए । ‘संक्रमितलाई स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको निगरानीमा अस्पतालमै राख्नुपर्छ,’ उनले भने, ‘होम आइसोलेसनमा बसेकाहरु कसैको निगरानीमा छैनन् ।’

संक्रमितका घरपरिवार र स्वयं संक्रमितसमेत अनुशासित नभएको खण्डमा कोरोना संक्रमण नियन्त्रण नहुने उनले बताए । ‘सरकार यो मामलामा पन्छिएकै हो,’ उनले थपे, ‘होम आइसोलेसनको मापदण्ड बनाएर मात्रै निर्णय गर्नुपर्ने थियो ।’ सुर्खेत जिल्लाको हकमा प्रदेश अस्पताल सुर्खेतमा ६५ जना, वीरेन्द्रनगर आइसोलेसनमा ६ जना, वीरेन्द्रनगर होटेल आइसोलेसनमा १४ जना, गुर्भाकोट आइसोलेसनमा ७ जना, सिम्ता गाउँपालिका आइसोलेसनमा ११ जना बराहताल आइसोलेसनमा १ जना रहेका छन् ।

अन्य जिल्लाहरुमा दैलेख जिल्लाभरका २१ जना संक्रमित, जाजरकोट जिल्लाका ५ जना संक्रमित, सल्यान जिल्लाका ४५ जना संक्रमित, रुकुम पश्चिममा ३१ जना संक्रमित, जुम्लाका ४ जना संक्रमित मुगुका १ जना र डोल्पा जिल्लाका ४ जना गरी जम्मा प्रदेशभर २१५ जना संक्रमित अस्पताल तथा स्थानीय तहहरुले निर्माण गरेका आइसोलेसनहरुमा बस्दै आएका छन् । आइतबार संक्रमण देखिएका २९ जनासहित प्रदेभर हालसम्म ३ हजार १३६ जनालाई संक्रमण भइसकेको छ । जसमध्ये सक्रिय भने ३८५ मात्रै रहेका हुन् ।

प्रदेशको राजधानी वीरेन्द्रनगरमा मात्रै जम्मा संक्रमितको संख्याको आधाभन्दा बढी होम आइसोलेसनमा बस्दै आएका छन् । यस विषयमा वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख पर्शुराम खड्काले होम आइसोलेसनबाट संक्रमितहरु खुलेआम बाहिर हिडेको जानकारी नभएको बताए । उनले सम्बन्धित वडा अध्यक्ष र टोलविकास संस्थासँग समन्वय गरी होम आइसोलेसनमा बसेकाहरुको निगरानीको जिम्मा दिएको बताए ।

यता प्रदेश अस्पताल सुर्खेतका प्रमुख डा. डम्बर खड्काले स्वयं संक्रमित अनुशासित भएको खण्डमा यो विश्वले अपनाएको प्रणाली राम्रो भएको बताए । ‘राज्यले सुरक्षाकर्मी लगाउनैपर्छ,’ उनले भने, ‘निगरानीमा राज्यले राख्ने र संक्रमित आफैं अनुशासित भए होम आइसोलेसनसमेत सुरक्षित नै हुन्छ ।’ स्वास्थ्यमा बढी समस्या भएको खण्डमा भने चिकित्सकहरुको सल्लाह भने लिनैपर्ने उनले जानकारी दिए ।

प्रकाशित समय ०९:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु