गृहपृष्ठ सप्तरीमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३ पुग्यो
सप्तरीमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३ पुग्यो
फाइल तस्बिर ।
सप्तरीमा कोरोनाबाट संक्रमित थप एक जनाको मृत्यु भएको छ । राजविराज नगरपालिका–३ का ७१ वर्षीय पुरुषको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान मृत्यु भएको हो ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा भदौ २५ गते संक्रमण पुष्टि भए पनि परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको उनका छोराले बताए । रक्तचापका बिरामी उनको अवस्था गम्भीर भएपछि १२ दिनअघि उपचारार्थ धरान भर्ना गरिएको थियो । उनको शव अहिले धरानमै छ ।
उनका जुम्ल्याहा दाजुको श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि धरान लैजाँदै गर्दा गत भदौ १३ गते बाटोमै मृत्यु भएको थियो । दाजुको पीसीआर परीक्षण भने गरिएको थिएन । यससँगै सप्तरीमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १३ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
कञ्चनरुप नगरपालिका कार्यालय बन्द
कञ्चनरुप नगरपालिकाका कार्यालय सहयोगीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको कार्यालय आजदेखि एक साताका लागि बन्द गरिएको छ । नगरपालिकाले आज सूचना जारी गरी आजदेखि यही असोज १५ गतेसम्मका लागि कार्यालय सिल गरिएको जनाएको छ ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले जारी गरेको सूचनाअनुसार नगरपालिकाबाट प्रवाह हुने शिक्षा स्वास्थ्य, कृषि, पशुलगायत नगरपालिका वडा नम्बर ८ बाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द गरिएको छ ।
गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणअनुसार कञ्चनरुप–८ बस्ने कार्यालय सहयोगीमा बिहीबार कोरोना संक्रमण देखिएको थियो । संक्रमण पुष्टि भएका कार्यालय सहयोगीका दुई छोरी र सँगै कार्यरत अर्का कार्यालय सहयोगीको पीसीआर परीक्षणका लागि आज स्वाब संकलन गरिएको र अन्य कर्मचारीको आगामी मङ्गलबार स्वाब संकलन गरिने खड्काले जानकारी दिए ।
प्रकाशित समय १६:०९ बजे

















