गृहपृष्ठ जिल्ला अस्पताल नवलपरासीलाई पीसीआर मेसिन

जिल्ला अस्पताल नवलपरासीलाई पीसीआर मेसिन

फाइल तस्बिर

कोभिड–१९ परीक्षणका लागि अन्य जिल्ला स्वाब पठाउनुपर्ने बाध्यता हट्ने भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा पीसीआर मेसिन आएसँगै स्वाब परीक्षणलाई अन्यत्र जिल्ला पठाउनुपर्ने बाध्यता हट्ने भएको हो । शनिबार मध्यविन्दु जिल्ला अस्पताललाई पीसीआर मेसिन हस्तान्तरण गरिएको छ ।

हस्तान्तरण गरिएको मेसिन सञ्चालनमा आउन भने अझै एक महिना लाग्ने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाइले बताए । पूर्वाधार र जनशक्तिको व्यवस्थापन गर्नुपर्ने भएकाले मेसिन सञ्चालन गरी स्वाब परीक्षण गर्न करिब एक महिना लाग्ने उनले बताए ।

शनिबार सांसद तिलक महतले जिल्ला अस्पतालका व्यवस्थापन समिति अध्यक्ष गोपाल खनाललाई पीसीआर मेसिन हस्तान्तरण गरेका हुन् । सांसद महतको पहलमा स्वास्थ्य मन्त्रालयले जिल्लामा पीसीआर मेसिन पठाएको हो । मेसिनसँगै परीक्षण किट र आवश्यक अन्य स्वास्थ्य सामग्री पनि हस्तान्तरण गरिएको छ । करिब एक करोड रूपैयाँ बराबरको मेसिन र सामग्री उपलब्ध भएको सांसद महतले जानकारी दिए ।

सांसद महतले संघीय सरकारबाट पीसीआर मेसिन उपलब्ध भएको भन्दै मेसिन सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण र जनशक्तिको छिट्टै व्यवस्थापन हुने बताए । उनले बजेटका लागि कुनै चिन्ता लिनुनपर्ने बताए । उनले छिटोभन्दा छिटो काम गर्नसमेत अस्पताल प्रशासनलाई आग्रह गरे । नवलपुरवासीको मागलाई सरकारले सम्बोधन गरेर पीसीआर मेसिन उपलब्ध गराएको भन्दै उनले देशकै नमूना बन्ने गरी काम गर्न अस्पताल प्रशासनलाई आग्रह गरे ।

पीसीआर मेसिनका लागि स्थान व्यवस्थापन, जनशक्ति व्यवस्थापन, मेसिनको क्वालिटी परीक्षणलगायत काम गर्नुपर्ने भएकाले आउँदो मंसिरदेखि मात्रै मेसिनबाट परीक्षणको काम हुने जिल्ला अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. शिवराज न्यौपानेले बताए । मेसिन सञ्चालनका लागि चारवटा कोठाको आवश्यकता पर्ने उनले बताए । भाइरस बाहिर ननिस्कने गरी सुरक्षित ल्याबको निर्माण गर्नुपर्ने उनले बताए । अहिले दक्ष जनशक्ति पनि अस्पतालमा नभएकाले सबैको व्यवस्थापन गर्न अझै एक महिना लाग्ने उनको भनाइ छ । मेसिन सञ्चालनमा आएर आवश्यक जनशक्ति परिचालन हुनसकेमा दैनिक ४०० वटासम्म स्वाबको परीक्षण गर्न सकिने न्यौपानेले बताए । (रासस)

प्रकाशित समय ०७:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु