गृहपृष्ठ सुदूरपश्चिममा कोरोनाबाट ५४ जनाले ज्यान गुमाए, मृतकमध्ये अधिकांशको लक्षण एउटै

सुदूरपश्चिममा कोरोनाबाट ५४ जनाले ज्यान गुमाए, मृतकमध्ये अधिकांशको लक्षण एउटै

संक्रमित युवकले गरे आत्महत्या, आत्महत्या गरेका २ जनामा कोरोना

सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ । शनिबार धनगढीमा एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुने संक्रमितको संख्या ५४ पुगेको हो । कोरोनाबाट ज्यान गुमाएकाहरूमध्ये अधिकांशमा श्वासप्रश्वासमै समस्या भएको कारणले ज्यान गएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

शनिबार पनि एक महिलाको श्वासप्रश्वासमै समस्या भएका कारण ज्यान गएको थियो । कैलालीको गोदावरी नगरपालिका- १ की ५९ वर्षीया संक्रमित महिलाको मृत्यु भएको सारथी अस्पतालले जनाएको छ । शनिबार सेती प्रादेशिक अस्पतालमा स्वाब परीक्षण गर्दा कोरोना देखिएको थियो । कोरोनापछि होम आइसोलेसनमा बसेकी महिलाको स्वास्थ्यमा समस्या आएपछि उनलाई सारथी अस्पताल धनगढीमा भर्ना गरिएको थियो ।

सुदूरपश्चिम प्रदेशमा कार्तिक २ देखि मंसिर ५ सम्ममा मात्रै कोरोनाबाट २८ जनाले ज्यान गुमाएका छन् । कार्तिकमा २४ र मंसिरको गएको शनिबारसम्म ४ जना गरी २८ जनाले ज्यान गुमाएका हुन् । यसै मंसिर ५ गतेमात्रै दुई जनाले ज्यान गुमाए । सेती प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत कैलालीको गौरीगंगा नगरपालिकाकाकी ७५ वर्षीया महिला र धनगढी उपमहानगरपालिकाका ५५ वर्षीय पुरूष ले ज्यान गुमाएका हुन् ।

गोदावरी नगरपालिका- ४ का ७३ वर्षीय बृद्धको मंसिर ४ निधन भयो । सेती प्रादेशिक अस्पतालमा उपचाररत ती बृद्धको श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । मंसिरको पहिलो दिन दार्चुलाको दुहु गाउँपालिका- २ का ३० वर्षीय युवकको पनि कोरोनाका कारण ज्यान गयो । उपचारका लागि धनगढी ल्याउदै गर्दा बाटोमै मृत्यु भएको थियो । विद्युत प्राधिकरण दार्चुलामा कार्यरत उनलाई श्वासप्रश्वासमै समस्या देखिएपछि जिल्ला प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो ।

शरीरमा अक्सिजनको मात्रा कम भएपछि उनको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी बैतडी प्रयोगशालामा पठाइएको थियो । मृत्युपछि उनको कोरोना रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पतालका प्रयोगशाला प्रमुख श्यामराज जोशीले जानकारी दिए ।

कार्तिक ३० सुदूरपश्चिममा २ जनाको ज्यान गयो । कञ्चनपुरको बेलौरी नगरपालिका- १ का ३२ वर्षीय युवकको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गयो भने कैलालीको भजनी नगरपालिका–८ गोलचउरा स्थायी ठेगाना भएका नेपाली कांग्रेस कैलालीका नेता तथा महासमिति सदस्य लक्ष्यबहादुर न्यौपाने (लक्ष्मण) को नेपालगञ्जको भेरी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

२९ दिनमा २२ जना संक्रमितको निधन

सुदूरपश्चिममा कार्तिक २ गतेदेखि २९ गतेसम्म २२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । कार्तिक २ गते धनगढी उपमहानगरपालिका- २ का ४२ वर्षीय क्यान्सर पीडित पुरूषको ज्यान गएको दिनदेखि २९ गते धनगढी उपमहानगरपालिका १६ का ४० वर्षीय पुरूषको मृत्युको अवधिसम्म २२ जनाले ज्यान गुमाएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार कार्तिक ४ गते सुदूरपश्चिममा दुई जनाले ज्यान गुमाएका थिए । कञ्चनपुरको भीमदत्त नगरपालिका ८ का ३८ वर्षीय संक्रमित पुरूष र दार्चुलाको दुहु गाउँपालिका २ का ५२ वर्षीय पुरूष को निधन भएको थियो ।

त्यस्तै कार्तिक ५ गते सुदूरपश्चिममा ४ जनाले ज्यान गुमाएका थिए । कञ्चनपुर बेलाडी- ५ का २४ वर्षीय युवकको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा ज्यान गएको थियो । त्यस्तै कोरोना संक्रमण भएर होम आइसोलेसनमै बसिरहेका धनगढी उपमहानगरपालिका २ का ६८ वर्षीय पुरूष र ६० वर्षीय एक व्यापारी भारतको लखनउमा उपचारका क्रममा ज्यान गएको थियो ।

५ गते नै सेती प्रादेशिक अस्पतालमा उपचाररत नेपाली कांग्रेस डोटीका नेता तेज पुनको ज्यान गएको थियो । केआईसिंह गाउँपालिका- ४, वायलका ५० वर्षीय पुनको उपचारका क्रममा ज्यान गएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । नेता पुन नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल आदिवासी जनजाति संघ डोटीका अध्यक्षसमेत रहेका थिए ।

गएको कार्तिक ८ गते कोरोना संक्रमित डोटीका व्यापारीको पनि ज्यान गएको थियो । दिपायलको पिपल्ला बजारमा रहेको जेभी आयल स्टोरका सञ्चालक कर्णबहादुर भण्डारीको प्रादेशिक अस्पताल कैलालीमा कोरोना संक्रमणबाट ज्यान गएको हो । त्यस्तै कार्तिक ९ जयपृथ्वी नगरपालिका ८ बारिलका २८ वर्षीय युवकको जिल्ला अस्पताल बझाङमा ज्यान गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्दिप ओखेडाले जानकारी दिए ।

कार्तिक १३ गते कैलालीको गौरीगंगा नगरपालिका- ४ की २८ वर्षीया संक्रमित महिला र धनगढी उपमहानगरपालिका- २ की ५७ वर्षीया महिलाको ज्यान गएको थियो । त्यस्तै कार्तिक १६ मा नेपालगञ्जको भेरी अस्पतालमा उपचाररत टिकापुर नगरपालिका- १ का ६० वर्षीय संक्रमित पुरूष, कार्तिक २० मा धनगढी उपमहानगरपालिका- ५ का ९२ वर्षीय पुरूष को ज्यान गएको थियो ।
कार्तिक २१ गते पनि कोरोनाबाट दुई जनाको ज्यान गएको थियो । टीकापुर नगरपालिका- १ की ५६ वर्षीया महिला र गौरीगंगा नगरपालिका ३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको ज्यान गएको हो । वडाध्यक्षलाई गम्भीर खालको निमोनिया देखिएपछि उनको ज्यान गएको हो । ७३ वर्षीय वडाध्यक्ष शाह गौरीगंगा नगरपालिकाका प्रवक्ता समेत थिए ।

कार्तिक २२ गते कैलालीमा २ जना कोरोना संक्रमितले ज्यान गुमाएका थिए । टीकापुर नगरपालिका- १ का ३९ वर्षीय एक पुरूष र बर्दगोरिया गाउँपालिका- ४ की ५९ वर्षीया महिलाले ज्यान गुमाएका हुन् । कार्तिक २४ गते पनि दुई जनाको निधन भएको थियो । टीकापुरका सामाजिक अगुवा ९० वर्षीय मोहनबहादुर रावल र धनगढी उपमहानगरपालिका- २ का ८४ वर्षीय पुरूष को कोभिड अस्थायी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

कार्तिक २५ गते कञ्चनपुरको बेलौरीका ६२ वर्षीय पुरूष , परशुराम नगरपालिका- १२ का ६५ वर्षीय पुरूष को मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड- १९ सम्पर्क व्यक्ति हरी भट्टले जानकारी दिए ।

श्वासप्रश्वासकै समस्याबाट १५ दिनमा ४ जनाको निधन

कोरोनापछि श्वासप्रश्वासको समस्याले असोज १५ गतेदेखि ३० गतेसम्म सुदूरपश्चिममा ४ जनाको ज्यान गएको छ । असोज २४ गते सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका- ३ का ५२ वर्षीय पुरूष को ज्यान गएको थियो । त्यस्तै असोज १८ गते कञ्चनपुरको पुर्नवास नगरपालिका–२ निवासी २९ वर्षीया महिला, असोज १६ धनगढीकी २५ वर्षीया युवती र असोज १५ गते सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीको गोदावरी नगरपालिका–१२ की ३० वर्षीया महिलाको कोरोनाका कारण ज्यान गएको प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

जेठदेखि असोजसम्म २१ जनाले ज्यान गुमाए

असोज महिनाअघि चार महिनाको अवधिमा सुदूरपश्चिममा २१ जनाले ज्यान गुमाएका थिए । कैलालीमा ९, अछामका ५, बझाङका तीन, बाजुराका दुई, बैतडी र डडेल्धुराका १/१ जना संक्रमितको ज्यान गएको थियो । तीमध्ये तीन जनाले भने आत्महत्या गरेका हुन् । दुई जनामा आत्महत्या गरेपछि कोरोना पुष्टि भएको थियो भने एक जनाले कोरोना संक्रमणपछि आत्महत्या गरेका हुन् ।

सुदूरपश्चिममा कोरोनाबाट ज्यान गुमाएको पहिलो घटना जेठ १८ हो । बाजुराकी दुई वर्षीया बालिकाको निधनपछि कोरोना पुष्टि भएको थियो । आमाबुवासँग भारतको नयाँदिल्लीबाट आएकी दुई वर्षीया बालिकामा ज्वरो आएपछि श्वासप्रश्वासमा समस्या थियो । त्यसपछि जेठ २४ गते कोरोना भाइरसले सुदूरपश्चिममा दोस्रो व्यक्तिको ज्यान लियो । धनगढी उपमहानगरपालिका–४ की ५५ वर्षीया महिलाले उपचारकै क्रममा ज्यान गुमाइन् । तेस्रो घटना असार ३ मा भयो । कैलालीको लम्कीचुहा नगरपालिका-२ की ४३ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा र कैलालीकै गोदावारी नगरपालिकाका ४६ वर्षीय पुरूष को सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचार क्रममा मृत्यु भएको थियो ।

असार १३ गते क्यान्सर पीडित कैलालीकै गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरूषको चितवनको भरतपुर अस्पतालमा ज्यान गएको थियो । असार १६ गते कोरोनाबाटै अछाममा पहिलो व्यक्तिको ज्यान गयो । चार दिन क्वारेन्टिन बसेर घर फर्किएको एक हप्तापछि अछामको रामारोशन गाउँपालिका ५ का ४५ वर्षीय पुरूष को निधन भएको हो ।

साउन १३ गते कोरोनाका कारण बझाङमा पनि पहिलो व्यक्तिको ज्यान गएको थियो । बुंगल गाउँपालिकाका ६५ वर्षीय पुरूषको निधनपछि कोरोना पुष्टि भएको थियो । त्यसपछि साउन २५ गते अछामको चौरपाटीका ५० वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा निधन भयो । त्यस्तै साउन २९ गते अछामकै रामारोशन गाउँपालिका–५ का १८ वर्षीय पुरूष को पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको थियो ।

साउन ३२ गते मृत्यु भएका कैलालीकै पुरूषमा भदौ ९ गते कोरोना पुष्टि भएको थियो । कैलालीको मोहन्याल गाउँपालिका–३ मा पुगेका ४९ वर्षीय ति पुरूष साउन ३२ गते बेहोस भएका थिए । त्यस्तै भदौमा १० गोदावरी नगरपालिकाका ४५ वर्षीय पुरूष को सेती प्रादेशिक अस्पतालमा ज्यान गएको थियो । त्यो मृत्यु सुदूरपश्चिममा कोरोना संक्रमितको १४ औं मृत्यु थियो ।

भदौ ३१ गते सुदूरपश्चिममा कोरोना भाइरसले १५ औं व्यक्तिको ज्यान लियो । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका ५ की ५७ वर्षीया महिलाले ज्यान गुमाइन् । असोज ८ गते डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरूषको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । दुई दिन अघि भारतबाट आएका उनी श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना भएका थिए ।

असोज १० गते एकैदिन सुदूरपश्चिमका चार जना कोरोना संक्रमितले ज्यान गुमाए । बैतडीको पुर्चौडी नगरपालिका–३ का ३० वर्षीय पुरूष, चितवन मेडिकल कलेजमा उपचाररत कैलालीको गोदावरी नगरपालिका–१ का ३० वर्षीय युवक, बझाङ घर भइ काठमाडौंमा कार्यरत सैनिक र अछामको बान्नीगढी जयगढ गाउँपालिका–३ बर्दादेविका ३४ वर्षीय पुरूषको ज्यान गएको थियो । त्यस्तै असोज १२ गते सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका १ की ६३ वर्षीया संक्रमित महिलाको पनि ज्यान गएको थियो ।

संक्रमितले गरे आत्महत्या, आत्महत्या गरेका २ जनामा कोरोना

सुदूरपश्चिममा कोरोना पुष्टि भएपछि एक युवकले आत्महत्या पनि गरेका थिए । बझाङको खप्तडछान्ना गाउँपालिका ७ मा रहेको लामागाडा प्राविको क्वारेन्टिनमा बस्दै आएका एक युवकले असार तेस्रो साता आत्महत्या गरेका हुन् । वडा नम्बर ७ गडराय घर भएका १८ वर्षका युवकले आत्महत्या गरेका थिए । उनी जेठ १९ गते भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए । त्यस्तै बाजुराको बडिमालिका नगरपालिका–२ भौनेरामा रहेको सत्यवादी माविको क्वारेन्टिनमा एक पुरूषले आत्महत्या गरेका थिए । मृत्युपछि आएको रिपोर्टमा उनमा कोरोना पुष्टि भएको थियो ।

बडिमालिका नगरपालिका–२ माझिगाउँका ४५ वर्षीय पुरूषले जेठ ३० गते क्वारेन्टिनमा आत्महत्या गरेका थिए । उनी जेठ २८ गते भारतबाट आएर क्वारेन्टिनमा बसिरहेका थिए । त्यस्तै अछाम घर भएका ४३ वर्षीय पुरूष भारतबाट साउन ९ गते बर्दियाको भुरिगाउँस्थित आफन्तनजिक पुगेका थिए उनलाई बाटोमा अचेत अवस्थामा फेला पारेपछि ठाकुरबाबा नगरपालिकाले क्वारेन्टिनमा राखेको थियो । त्यसपछि उनले क्वारेन्टिनमै आत्महत्या गरेका थिए । पछि उनको रिपोर्टमा कोरोना पुष्टि भएको थियो ।

प्रकाशित समय १७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु