गृहपृष्ठ शिक्षकलाई कोरोना देखिँदासमेत हुँदैन विद्यार्थीको परीक्षण

शिक्षकलाई कोरोना देखिँदासमेत हुँदैन विद्यार्थीको परीक्षण

कोरोना पुष्टि भएको १० दिन बित्यो तर, कन्ट्रयाक ट्रेसिङका विद्यार्थीको परीक्षण हुँदैन

१० दिनअघि पञ्चपुरी नगरपालिकाको विद्याज्योती माद्यमिक विद्यालयका तीन जना शिक्षक र एकजना सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भयो । सुरुमा विद्यालयका शिक्षक भीमप्रसाद सापकोटालाई रुघाखोकी र पखाला लागेको भए पनि उनले स्थानीय स्वास्थ्य संस्थाबाट टाइफाइडको औषधी सेवन गर्दै आएका थिए ।

टाइफाइडको औषधी सेवन गरिरहेका सापकोटालाई निको हुने लक्षण नदेखिएपछि आरटी– पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्दा उनलाई कोरोना भाइरस पुष्टि भयो । उनीसँगै विद्यालयका अन्य दुई जना शिक्षक र एकजना सुरक्षाकर्मीलाई समेत कोरोना पुष्टि भएपछि हाल विद्यालय नै बन्द गर्नुपरेको प्रधानाध्यापक कृष्ण सापकोटाले बताए । ‘मलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो,’ उनले भने, ‘विद्यालयमा नियमित अध्यापन गराइरहेका शिक्षक र सुरक्षाकर्मीहरुलाई नै कोरोना पुष्टि भएको हो ।’ तर, कन्ट्रयाक ट्रेसिङमा परेका कुनै पनि विद्यार्थीहरुको स्वाब संकलन भने नभएको सापकोटाले गुनासो गरे ।

प्रधानाध्यापक सापकोटाका अनुसार केही अभिभावकहरुले समेत आफ्ना छोराछोरीहरुको स्वाब संकलन गर्नुपर्ने माग राख्दै आएका छन् । ‘हामीहरुले नगरपालिकालाई विद्यार्थीको स्वाब संकलनका लागि धेरै पटक भनिसक्यौं, तर यति धेरै विद्यार्थीको स्वाब संकलन कसरी गर्ने भन्ने जवाफ आउँछ ।’ उनले सुनाए ।

पञ्चपुरी नगरपालिका कै सूर्यप्रकाश माद्यामिक विद्यालय पलैटेमा नियमित अध्यापन गराइरहेका ११ जना शिक्षकलाई समेत कोरोना भाइरस पुष्टि भयो । दैनिक विद्यार्थीकै कन्ट्याकमा रहेका शिक्षकहरुलाई नै कोरोना पुष्टि हुँदा विद्यार्थीहरुको भने स्वाब संकलन गरिएको छैन । विद्यालयका सहायक प्रधानाध्यापक यामबहादुर बि.सीले विद्यार्थीहरुको हकमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताए ।

‘विद्यालयका शिक्षकहरुलाई कोरोना देखिएको १० दिन भयो,’ उनले भने, ‘विद्यार्थीहरुको हकमा के गर्ने भन्ने अन्यौलता छ ।’ विद्यालयका शिक्षकहरुलाई कोरोना पुष्टि भएपछि विद्यालय भने बन्द गरिएको बिसीले जानकारी दिए । यद्यपी पञ्चपुरी नगरपालिका क्षेत्रका सबै विद्यालयहरु कोरोना भाइरसका कारण बन्द रहेको उनले बताए । वीरेन्द्रनगर नगरपालिका ९ को शिव माद्यामिक विद्यालयका तीन जना शिक्षकलाई समेत कोरोना भाइरस पुष्टि भइसकेको छ ।

विद्यालयमा अध्यापन गराउने ११ जना शिक्षकहरुको कन्ट्रयाक ट्रेसिङको आधारमा स्वाब संकलन गरी आरटी-पीसीआर परीक्षण गरिए पनि विद्यार्थीहरुलाई भने वास्ता गरिएको छैन । विद्यालयका प्रधानाध्यापक चन्द्रलाल सापकोटाले विद्यार्थीहरुलाई सूचना गर्दा कोही पनि सम्पर्कमा नआएको बताए । ‘विद्यार्थीहरुलाई खास समस्या देखिएको छैन,’ उनले भने, ‘तर पनि स्वाब संकलनको लागि सूचना गर्दा कोही पनि सम्पर्कमा आउनुभएन ।’

सुर्खेतका केही विद्यालयहरुमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । विद्यालयमा नियमित अध्यापन गराइरहेका शिक्षकहरुलाई नै कोरोना पुष्टि भएको छ । दैनिक जसो धेरै विद्यार्थीहरुको सम्पर्कमा जाने शिक्षकहरुलाई नै कोरोना पुष्टि हुँदा विद्यार्थीहरुलाई भने वेवास्ता गरिएको हो ।
यता जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले आरटी-पीसीआर परीक्षणका लागि स्वाब संकलन लगायतको सबै अधिकार स्थानीय तहलाई नै रहेको जानकारी दिए ।

‘क्लोज कन्ट्रयाक र लक्षण देखिएकाहरुलाई अनिवार्य नै परीक्षण गर्नुपर्छ,’ उनले भने, ‘साहेद त्यस्तो समस्या नआएर पनि विद्यार्थीहरुको स्वाब संकलन नभएको होला ।’ वाग्लेका अनुसार क्लोज कन्ट्याकमा भएको व्यक्तिलाई पोजेटिभ देखिएको एक हप्तासम्म लक्षण देखिने सम्भावना भएकोले सो अवधिसम्म पर्खनुपर्ने हुन्छ ।

पञ्चपुरी नगरपालिका सुर्खेतका प्रमुख उपेन्द्रबहादुर थापाले आफूहरुसँग स्रोत र साधन नभएको कारण विद्यार्थीहरुको कन्ट्याक ट्रेसिङका आधारमा स्वाब संकलन गर्न नसकिएको बताए । ‘दुई विद्यालयमा गरी करिब ३५ सय विद्यार्थी छन्,’ नगरप्रमुख थापाले भने, ‘अब उनीहरुको कसरी स्वाब संकलन गर्ने ? प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले समेत यस्तो विषयमा चासो नदेखाएको उनले गुनासो गरे । सबै अधिकार स्थानीय तहलाई दिएको भए पनि आवश्यकताअनुसार स्रोत र साधन भने नदिएको उनले सुनाए ।

प्रकाशित समय ११:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु