गृहपृष्ठ ३५ वटा निजी अस्पतालको ओपीडी सेवा बन्द, बिरामी समस्यामा
३५ वटा निजी अस्पतालको ओपीडी सेवा बन्द, बिरामी समस्यामा
कोरोना भाइरस (कोभिड-१९) को संन्त्रासका कारण जनकपुरधामका निजी अस्पतालहरुले तत्कालका लागि ओपीडी सेवा बन्द गरेका छन् । अस्पतालहरुले आकस्मिक सेवा सुचारु राखेको दावी गरे पनि विरामीलाई भने सहजै भर्ना गरिरहेका छैनन् ।
अस्पतालहरुले ज्वरो, रुघाखोकी, टाउको दुख्ने लगायतको विरामीलाई भर्ना नगरी प्रादेशिक अस्पताल जनकपुरमा पठाउने गरेको छ । गत चैत २३ गते आफ्नो डेढ वर्षीय छोरालाई ज्वरो आएपछि चेकजाँच गराउन जाँदा जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटलले उपचार गर्न नमानेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर- ४ का राजा सहनीले बताए ।
यसअघि चैत १४ गते धनुषाधाम नगरपालिका- ३, मुलाबारीकी ४५ वर्षीय मरनी देवी सदालाई स्वासप्रस्वासमा समस्या भएपछि जनकपुरधाम- ८ स्थित गोदावरी मोडर्न अस्पताल लैजाँदा डाक्टरले कोरोना भाइरसको संकेत गर्दै भर्ना नगरी प्रादेशिक अस्पतालमा रेफर गरेको कारी सदाले बताइन् । उनका अनुसार पहिलेदेखि नै मुटुरोगी रहेकी मरनी सदालाई सामान्य ज्वरो आएर सास फेर्न समस्या भएको थियो ।
निजी अस्पतालले डाक्टरलाई पीपीई प्रदान नगरेपछि अहिले डाक्टरहरु धमाधम जागिर नै छोडेर सम्पर्कविहीन भएको जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटलमा कार्यरत एक नर्सले बताइन् । ‘हामी निकै असुरक्षित तरिकाले काम गर्दै आएका छौं । अस्पतालका धेरै डाक्टरहरुले जागिर छोडिसकेको छन् । तर हामी जोखिमपूर्ण तरिकाले काम गर्न बाध्य भएका छौं,’ उनले भनिन् ।
प्रादेशिक अस्पताल जनकपुरबाट चार जना स्वस्थ्यकर्मीले घरको दबावका कारण जागिर छाडेको वरिष्ठ बालरोग विशेषज्ञ डा. जामुन सिंहले बताए । उनका अनुसार अहिलेको बिषम परिस्थितिमा सामान्य ज्वरोका बिरामी आउँदा पनि चिकित्सकहरु डराउँछन् ।
जनकपुरधाममा प्रादेशिक अस्पतालबाहेक ३५ वटा निजी अस्पतालहरु रहेका छन् । तर अधिकांश अस्पतालले अहिले कोरोना संक्रमणको क्रासले ओपीडी सेवा समेत बन्द गरेका छन् । जनकपुरका अधिकांश निजी अस्पतालमा कार्यरत चिकित्सकहरु कोरोना भाइरसको डरका कारण सम्बन्धित अस्पताल प्रशासनलाई कुनै जानकारी नै नदिइ ड्युटीमा आउन छाडेकाले गर्दा सामान्य बिरामीसमेत समस्यामा परेका छन् ।
प्रकाशित समय २१:०७ बजे















