गृहपृष्ठ विद्यार्थीलाई टेलिकमको सीममा अफर
विद्यार्थीलाई टेलिकमको सीममा अफर
प्याकेज ६ महिनासम्म र बोनस १ वर्षसम्म पाइने
नेपाल टेलिकमले एसईई परीक्षा दिएकासहित अन्य विद्यार्थीहरुका लागि विभिन्न अफर ल्याएको छ ।
‘विद्यार्थी अफर’ नाम दिइएको प्रबर्कनात्मक योजनामा विद्यार्थीहरुलाई ५० रुपैयाँ टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराइने छ । त्यसमा भएको रकममध्ये १० रुपैयाँबाट कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न सकिने छ । बाँकी ४० रुपैयाँबाट ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ । यी सबै सुविधा ३० दिनभित्र उपभोग गरिसक्नु पर्ने छ ।
यसका साथै ‘विद्यार्थी अफर’ भएको सिम लिएका विद्यार्थीलाई ६ महिनासम्म बोनसको रुपमा प्रतिमहिना ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस पठाउने सुविधासमेत उपलब्ध गराइने टेलिकमले विज्ञप्तिमा जानकारी दिएको छ । यो सुविधा उपभोग गर्ने समयावधि ७ दिनको हुनेछ ।
त्यसैगरी यस अफरअन्तर्गत रजिष्टर गरिएका सिममा ५० रुपैयाँ वा त्यसभन्दा बढी रकम रिचार्ज गर्दासमेत १ वर्षसम्म प्रत्येक रिचार्जमा बोनस उपलब्ध हुने छ । विद्यार्थीले ५० रुपैयाँ रिचार्ज गर्दा बोनसअन्तर्गत १० मिनेट भ्वाइस कल गर्न र ५० एमबी डाटा खरिद गर्न सकिने छ । रिचार्ज गरिसकेपछि यो सुविधा ३ दिनभित्र उपभोग गरिसक्नु पर्नेछ ।
यस अफरअन्तर्गत उपलब्ध सुरुको १० रुपैयाँबाहेक अन्य रकमबाट नेपाल टेलिकमकै नेटवर्क भित्रका नम्बरमा मात्र भ्वाइस कल र एसएमएस पठाउन सकिने छ । अफर २०७६ असार २६ गतेसम्म उपलब्ध हुने छ । अफरअन्तर्गत प्राप्त प्याकेज भने सिम एक्टिभ भएको ६ महिनासम्म उपलब्ध हुनेछ रिचार्जमा प्राप्त बोनस एक बर्षसम्म उपलब्ध हुनेछ ।
विद्यार्थीहरुले यस्तो सिम लिन विद्यालयको आईडी कार्ड वा परीक्षाको एडमिट कार्ड, फोटो र आफ्नो अभिभावकको नागरिकताको प्रतिलिपी उपलब्ध गराउनु पर्नेछ ।
त्यसैगरी उच्च माविभन्दा माथिल्लो तहका विद्यार्थीहरुले आफ्नो नागरिकताको प्रमाणपत्र, फोटो र उच्च मावि वा कलेजको परिचय पत्रको प्रतिलिपी उपलब्ध गराउनु पर्नेछ ।
प्रकाशित समय १६:२८ बजे

















