गृहपृष्ठ क्वान्टम ह्याक अन्तर्राष्ट्रिय ह्याकाथोन कार्यक्रम सम्पन्न
क्वान्टम ह्याक अन्तर्राष्ट्रिय ह्याकाथोन कार्यक्रम सम्पन्न
नेपालको कम्प्युटर इन्जिनियरिङ तथा सूचना प्रविधिका विद्यार्थीबीच प्रतिस्पर्धा गराई उनीहरुको प्रतिभा उजागर गर्न सघाउ पुर्याउने उद्देश्यले भदौ १२ देखि १४ गतेसम्म नेपालमा क्वान्टम ह्याक अन्तर्राष्ट्रिय ह्याकाथोन कार्यक्रम आयोजना गरियो ।
वेभविनारमार्फत इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका प्रायः सबै विभागको सहभागिता रहेको सो कार्यक्रम भारतको डेभ्फोलियोको सहयोगमा पुल्चोक क्याम्पसको नेक्ष्टजेन संस्थाले आयोजना गरेको थियो । प्रकोप व्यवस्थापन, सबैका लागि आधुनिक वित्तीय व्यवस्थापन, शिक्षा, स्वास्थ तथा सहरी जनसंख्या व्यवस्थापन, वातावरणलगायत स्वतन्त्र विचार शिर्षकजस्ता विभिन्न छ वटा विधामा प्रविधिको प्रयोग तथा त्यसको माध्यमद्वारा समस्याको समाधान पत्ता लगाउने प्रयास गरिएको सो कार्यक्रममा ७० भन्दा बढी समूहका २ सय ५० जनाले विभिन्न प्रतियोगितात्मक परियोजना तथा अवधारणा प्रस्तुत गरेका थिए ।
करिव २५ सय जनाले सक्रिय सहभागिता जनाएको सो कार्यक्रममा विश्व प्रसिद्ध एप्पल कम्पनीका सहसंस्थापक स्टिभ वोज्नियाकले विशेष अतिथिको रुपमा सम्बोधन गरेका थिए । आइबीएमका वरिष्ठ प्रोग्रामर तथा इन्जिनियर जो सेपी तथा डेभ्फोलियोका कम्युनिटी लिड व्यवस्थापक डेनभर डि सुजाले मुख्य वक्ताको रुपमा सम्बोधन गरेका थिए ।
सो कार्यक्रममा नासा, अमेजन वेभ सर्भिस आदिका वरिष्ठ प्रतिनिधिहरुले मेन्टर्सको रुपमा काम गरेका थिए भने विभिन्न विधाका विशेषज्ञ तथा माइक्रोसफ्ट एवं विभिन्न प्रतिष्ठित संस्थाका विज्ञहरुले प्रस्तावित परियोजनाको मूल्यांकन गरेका थिए । परियोजना प्रतियोगितामा विभिन्न छ वटा टिम पुरस्कृत भएका थिए । लगातार ३६ घण्टासम्म चलेको उक्त कार्यक्रममा ह्याकाथनका अतिरिक्त गोष्ठी, कार्यशालाकालगायत स्वदशी तथा विदेशी सेलिब्रेटीहरुले गायन ,नृत्य एवं अन्य कार्यक्रम प्रस्तुत गरेका थिए ।

जटिल अवस्थामा यति बृहत र एप्पलका सहसंस्थापक तथा आईबीएमजस्ता प्रतिष्ठित संस्थाकोे उच्च सहभागिता गौरव र प्रेरणाको विषय भएको नेक्टस्जेनका अध्यक्ष तथा आयोजक समितिका लिड अर्गनाइजर जय किसन पन्जियारले बताए । यसले हाम्रो सोच्ने क्षमता र वातावरणमा ठुलो परिवर्तन ल्याउनेमा आफूहरु विश्वस्त रहेको उनको भनाइ छ ।
नेपाली विद्यार्थीको तहबाट गरिएको यो कार्यक्रमा भएको उच्च तहको सहभागिताले हामीलाई भोलिका लागि हौसला र प्रतिस्पर्धाको पे्ररणा प्राप्त भएको कार्यक्रमकी मिडिया व्यस्थापक अनिसा अधिकारीले बताइन् ।
प्रकाशित समय १४:५६ बजे

















