गृहपृष्ठ टेक्सास कलेजले गुरूचेला सफ्टवेयर प्रयोग गर्ने
टेक्सास कलेजले गुरूचेला सफ्टवेयर प्रयोग गर्ने
टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटीले कलेजलाई डिजिटल बनाउन गुरूचेला सफ्टवेयर प्रयोग गर्ने भएको छ । एक्सटेन्ड बिजनेस सलुशन्स (एक्सविएस) ले विकास गरेको उक्त सफ्टवेयर प्रयोग गर्न टेक्सास कलेजले सम्झौता गरेको छ । सम्झौतामा टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटीका प्रमुख कार्यकारी अधिकृत भेषराज पोखरेल र एक्सटेन्ड बिजनेस सलुशन्सका प्रबन्ध निर्देशक चिरञ्जिवी अधिकारीले शुक्रवार हस्ताक्षर गरेका हुन् ।
डिजिटल स्कूल प्रासंगिक सफ्टवेयर र सम्बन्धित टेक्नोलोजीहरूको प्रयोगमार्फत सम्पूर्ण शैक्षिक क्षेत्रलाई पूर्ण रूपमा सशक्त बनाउन एक्सटेन्ड बिजनेस सलुशन्सद्वारा लिइएको प्राथमिकतामध्ये एक हो । गुरुचेला नामक एकेडेमिक ईआरपी सफ्टवेयरमार्फत पूर्ण डिजिटल स्कूल संचालन गर्न सकिन्छ । एक्सबीएसले यसको राष्ट्रिय नेटवर्कमार्फत नेपालका विश्वविद्यालय, कलेज र स्कूलहरूको लागि लागत र पूर्ण रूपले कार्यात्मक शैक्षिक ईआरपी सफ्टवेयर प्रदान गर्नेछ । एक्सविएसले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको एक भागको रूपमा नेपालका मोडेल स्कूलहरूलाई सफ्टवेयरको मूल्यमा अनुदान दिने योजना बनाएको छ ।
कम्पनीका अनुसार स्कूल व्यवस्थापन सफ्टवेयर माध्यमिक र उच्च माध्यमिक विद्यालयहरूको व्यवस्थापन गर्न सघाउने छ । जारी महामारीका कारण नेपालमा विद्यालय र कलेजहरूले पूर्ण क्षमताले सञ्चालनमा कठिनाई भोगिरहेका छन् । गुरुचेलाले अभिभावकलाई आफ्ना छोरा-छोरीको दिनचर्या, विद्यालयका गतिविधि, सूचना प्रणाली, शैक्षिक क्यालेन्डर, पुस्तकालय, पुस्तक उपलब्धता, सूचनालगायतका जानकारी उपलब्ध गराउँछ ।
यस्तै शुल्क, परीक्षा रिपोर्ट, उपस्थिति रिपोर्ट, प्रगति रिपोर्ट,व्यवस्थापन रिपोर्ट, होस्टल शुल्क, मासिक शुल्क, यातायात शुल्क, अनलाइन कक्षा, विद्यार्थी र शिक्षकको उपस्थिति, अभिभावक-शिक्षक कुराकानी (च्याट), शिक्षण सामग्री, विषयहरु, पाठ, ई-पुस्तकहरू, अडियो, भिडियो, असाइनमेन्ट, गृहकार्य, परियोजना कामलगायतका सबै कुराहरूको व्यवस्थापनमा यस सफ्टवेयरले सघाउँछ । एक्सटेन्ड बिजनेस सलुशन्सले २० भन्दा बढी विद्यालयमा गुरूचेला सफ्टवेयर उपलब्ध गराइसकेको छ । टेक्सस कलेज यो सफ्टवेयर प्रयोग गर्ने पहिलो सूचना प्रविधि अध्यापन हुने कलेज हो ।
प्रकाशित समय १५:४४ बजे

















