गृहपृष्ठ सूचना तथा सञ्चार प्रविधि सम्मेलन सम्पन्न
सूचना तथा सञ्चार प्रविधि सम्मेलन सम्पन्न

आर्थिक समृद्धि हासिल गर्न सूचना प्रविधिको प्रयोगको मुख्य भूमिका रहने निष्कर्ष निकाल्दै अन्तर्राष्ट्रियस्तरको सूचना तथा सञ्चार प्रविधि सम्मेलन– २०१८ सम्पन्न भएको छ । स्मार्ट सोसाइटीका लागि दिगो विकास लक्ष्य नारासहित ललितपुरको हिमालय होटलमा असार ३ गतेदेखि सुरु भएको सम्मेलन सोमबार सकिएको हो ।
सम्मेलनमा स्थानीय तहहरुलाई स्मार्टपालिका बनाउन सबै किसिमका विकासका पूर्वाधारका साथै सरकारी सेवालाई डिजिटलाइज्ड गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका छन् । सम्मेलनको दोस्रो दिन असार ४ गते पूर्वाधार र डिजिटल सेक्युरिटीसम्बन्धी विषयगत विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका छन् । सम्मेलनमा इयरिज इन्डियाका अध्यक्ष ऋषि भट्नागर, इसिमोडका स्ट्राटेजिक कोअपरेसन डाइरेक्टर वसन्त श्रेष्ठ, नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल र बीआई सलसन्स एन्ड एक्सन सिस्टमका संस्थापक रवि भट्टराईसम्बन्धी कार्यपत्र प्रस्तुत गरे । त्यस्तै डिजिटल सेक्युरिटीका विषयमा सूचना प्रविधि विज्ञहरु सुयस नेपाल, प्रमोद पराजुली, राजनराज पन्त, विजय सेनिहाङ र अभिजित गुप्ताले कार्यपत्र प्रस्तुत गरे ।
सम्मेलनको अन्तिम सत्रमा स्थानीय सरकारका प्रतिनिधिहरुको उपस्थितिमा स्मार्टपालिका (स्मार्ट स्थानीयतह) विषयक प्यानल डिस्कसन गरिएको थियो । प्यानल डिस्कसनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ, सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्र शर्मा, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का उपकुलपति जीवराज पोखरेल, यूएनडीपी नेपालका कन्ट्री डाइरेक्टर रिनाउद मेयेर, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य सुनिलबाबु श्रेष्ठलगायतको सहभागिता थियो । स्मार्टपालिका विषयक डिस्कसनमा भक्तपुरको चाँगुनारायण नगरपालिका, प्युठान नगरपालिका, स्याङ्जाको वालिङ नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका, काभ्रेको भोटेचौर गाउँपालिकालगायत देशभरका २० भन्दा बढी स्थानीय तहका प्रमुखको उपस्थिति थियो ।
सम्मेलनमा डिजिटल इकोनोमी, स्मार्ट सर्भिसेस, डिजास्टर रिस्क रिडक्सन, पूर्वाधार, डिजिटल सेक्युरिटी र स्मार्टपालिकासम्बन्धी कार्यपत्र प्रस्तुत भएको थियो । सम्मेलनपछि अवधारणापत्र तयार गरी नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्य सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने क्यान महासंघले जनाएको छ । साथै, सहरी विकास मन्त्रालयअन्तर्गत स्मार्ट सिटीको मास्टर प्लान बनाउने कार्यलाई प्रवर्धन गर्ने उद्देश्यले सूचनाप्रविधिको क्षेत्रसँग सम्बन्धित योजना तर्जुमा गरी नेपाल सरकारलाई प्रतिवेदन हस्तान्तरण गर्ने योजनासमेत छ ।
सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सहरी विकास मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नास्ट, यूएनडीपी, नेपाल पर्यटन बोर्ड, सूचना प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ब्क्इऋक्ष्इ, (ध्क्ष्त्क्ब्, क्यान यूएसए र माइक्रोसफ्टको सहयोग थियो ।
प्रकाशित समय ०७:५७ बजे