गृहपृष्ठ सार्कमा कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो, ६१५ जनाको मृत्यु
सार्कमा कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो, ६१५ जनाको मृत्यु
भारतमा १२ हजारभन्दा बढी संक्रमित, भुटानमा ५ जनामा देखियो कोरोना
दक्षिण एसियाली सहयोग संगठन (सार्क) मा कोरोना संक्रमितको संख्या २१ हजार नाघेको छ । बिहीबार बिहानसम्म सार्कका आठ देशमा कोरोना संक्रमितको संख्या २१ हजार ४९ पुगेको छ ।
चीनको वुहानबाट विश्वभर फैलिएको छोटो समयमै भाइरसले सार्कका मुलुकहरुमा पनि संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो समयमा युरोपियन मुलुक र अमेरिकामा कोरोनाको हब जस्तै बनेको छ ।
सार्कका देशमा भित्रिएको छोटो समयमै हजारौंको संख्यामा संक्रमित हुनु र सयौंको संख्यामा ज्यान जानुले प्रकोप तीव्र गतिमा बढ्दै गएको संकेत देखिदै आएको छ । सार्कका आठ देशमध्ये सबैभन्दा बढी भारत प्रभावित भएको छ ।
भारतमा संक्रमितको संख्या १२ हजार ३७० पुगेको छ त्यस्तै ज्यान गुमाउनेको संख्या पनि ४२२ पुगेको छ । गएको २४ घण्टामा मात्रै ८८३ जनामा नयाँ संक्रमण देखिएको छ भने २९ जनाको ज्यान गएको छ । अहिलेसम्म भारतमा एक हजार ५०८ जनाको सफल उपचार भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
सार्कमा अहिलेसम्म दोस्रो ठूलो प्रभावित भएको मुलुकको रुपमा पाकिस्तान देखिएको छ । पाकिस्तानमा अहिलेसम्म छ हजार ३८३ जनामा संक्रमण देखिएको छ । त्यस्तै अहिलेसम्म १११ जनाको ज्यान गइसकेको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ । एकै दिनमा मात्रै पाकिस्तानमा ५४६ जनामा नयाँ संक्रमण देखिएको छ भने १५ जनाको ज्यान गएको छ । त्यस्तै अहिलेसम्म एक हजार ४४६ जनाको सफल उपचार भएको छ ।
बंगलादेशमा पनि संक्रमण हुनेको संख्या एक हजार २३१ पुगेको छ । त्यस्तै ५० जनाले ज्यान गुमाइसकेका छन् । गएको २४ घण्टामा मात्रै बंगलादेशमा २१९ जनामा नयाँ संक्रमण देखिएको छ भने ४ जनाको ज्यान गएको छ । त्यस्तै अहिलेसम्म ४९ जनाको सफल उपचार भएको छ ।
अफ्गानस्थानमा ७८४ व्यक्तिमा संक्रमण देखा परेको छ । त्यस्तै २५ जनाको ज्यान गएको छ ।
बुधबार मात्रै ७० जनामा नयाँ संक्रमण देखिएको थियो भने २ जनाको ज्यान गएको थियो । अहिलेसम्म ४३ जनालाई सञ्चो भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । श्रीलंकामा २३८ जनामा संक्रमण देखिएको छ भने ७ जनाको मृत्यु भइसकेको तथ्यांकले देखाएको छ । शुक्रबार मात्रै श्रीलंकामा ५ जनामा नयाँ संक्रमण देखिएको छ । त्यस्तै ६३ जनाको सफल उपचार भइसकेको छ ।
माल्दिभ्समा अहिलेसम्म २२ जनामा संक्रमण देखिएको छ । संक्रमणमध्ये १६ जनाको उपचार भइसकेको छ भने बाँकी ६ जनाको अवस्था पनि सामान्य रहेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ । माल्दिभ्समा बुधबार फेरि २ जनामा नयाँ संक्रमण देखिएको छ ।
बिहीबार बिहानसम्म नेपालमा १६ जनालाई कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । अहिलेसम्म एक जनालाई मात्रै सञ्चो भएको छ । बाँकी संक्रमितको अवस्था पनि सामान्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् ।
सार्कका आठ मुलुकमध्ये सबैभन्दा कम संक्रमण भएको मुलुकको रुपमा भुटान देखिएको छ । भुटानमा अहिलेसम्म ५ जनामा संक्रमण देखिएको छ भने २ जनालाई सञ्चो भइसकेको छ ।
प्रकाशित समय ०९:३० बजे

















