गृहपृष्ठ एक करोडको लागतमा गाउँपालिकाको भवन निर्माण

एक करोडको लागतमा गाउँपालिकाको भवन निर्माण

काभ्रेको विकट क्षेत्र डाँडापारिमा अवस्थित महाभारत गाउँपालिकाले करीब एक करोडको लागतमा गाउँपालिकाको भवन निर्माण गरेको छ ।

संघीय संरचनाअनुसार स्थानीय तह गठन भएपछिको पहिलो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले भवन अभावका कारण महाभारत गाउँपालिकाको वडा नं ६ स्थित चौरमा नै उभिएर शपथग्रहण गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले चौरमा नै उभिएर शपथग्रहण गरेको र अहिले गाउँलेको ठूलो सहयोगबाट १६ रोपनी जग्गा प्राप्त गरी गाउँपालिकाको आफ्नै भवन निर्माण गर्न सफल भएको बताए ।

शुरुमा अस्थायी केन्द्रका रुपमा वनखुको कोलटारमा तोकिएको भए पनि सबैको पायक पर्ने ठाउँमा केन्द्र नभएको भन्दै केन्द्र सार्नुपर्ने माग बढ्दै गएको थियो ।

अध्यक्ष जिम्बाका अनुसार पछि सबैको सहमतिमा सबै वडाका बासिन्दालाई पायक गर्ने स्थान देवीटारमा सार्ने सहमति भएपछि जग्गा उपलब्ध भएका कारण कार्यालय निर्माण गरेको हो ।

गाउँपालिकाको कार्यालय निर्माण गर्न आर्थिक वर्ष २०७४÷०७५ को बजेटबाट एक करोड ४० लाख छुट्याएकोमा करीब एक करोडमा निर्माण गर्ने ठेक्का सम्झौता भएपछि अहिले आठ कोठे भवन र एउटा हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

गाउँपालिका–६ वडाका वडाध्यक्ष रमेश लुंगेली मगरले गाउँपालिकाको लागि जग्गा प्राप्त गर्न १७ जना वडा बासिन्दाले सहयोग गरेको बताए ।

उनले बुम्बा दोर्जे लामाले दुई रोपनीभन्दा बढी जग्गादान गरेको र जग्गादान गर्ने अन्य दातामा भीमबहादुर थिङ, लवध्वज वाइबा, बमबहादुर अस्तानी, छेवाङ दोर्जे लामा, पदमबहादुर माझी, भोरसबहादुर मोक्तान र दर्जमान मोक्तान रहेको उल्लेख गरे । रासस ।

प्रकाशित समय १२:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु