गृहपृष्ठ कैलालीका स्थानीय तहमा कर्मचारी अभाव, सेवा प्रभावित

कैलालीका स्थानीय तहमा कर्मचारी अभाव, सेवा प्रभावित

विकास निर्माणले लिएन गति

स्थानीय तह सञ्चालनमा आएको डेढ वर्ष पुग्नै लाग्दा समेत कैलालीका स्थानीय तहमा कर्मचारीको अभाव कायमै रहेको छ ।

कर्मचारी व्यवस्थापनमा समस्या आएपछि कैलालीका १३ वटै स्थानीय तहका विकास निर्माणको काम प्रभावित भएका छन् । योजना, कृषि, स्वास्थ्य, शिक्षा, महिला विकास लगायतका शाखामा कर्मचारी अभाव छ । विकास निर्माणका लागि आवश्यक प्राविधिक कर्मचारी समेत नहुँदा स्थानीय तहका विकास योजना अलपत्र अवस्थामा छन् ।

कैलालीको मोहन्याल र चुरे गाँउपालिकामा कर्मचारी अभाव बढी छ । चुरे गाँउपालिकामा २५ अनिवार्य भए पनि १२ जना मात्र कर्मचारी छन् । चुरे गाँउपालिकामा एक जना पनि इन्जिनियर छैनन् । केही सव–इन्जिनियरले मात्र विकास निर्माणका काम गर्दै आएका छन् । १ सय ५० बढी योजना रहेका गाँउपालिकाका वडा सचिव पनि नभएको प्रमुख प्रशासकीय अधिकृत हेमराज जोशीले बताए ।

पहाडी गाउँपालिका मोहन्यालमा पनि वडा सचिव छैनन् । ७ वटा वडा रहेको गाँउपालिकामा ५ वडा सचिव बिहीन छन् । यता, कैलारी गाँउपालिमामा भने शिक्षा शाखामा मात्र कर्मचारीको अभाव छ । गाँउपालिकाका ७ वडामध्ये ५ मा सचिव नरेहेको प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द भट्टले जानकारी दिए ।

टिकापुर नगरपालिकामा समेत कर्मचारीको अभाव छ । नगरमा स्वीकृत दरबन्दी अनुसारका कर्मचारी छैनन् । सात शाखा र एक आन्तरिक लेखा परिक्षण गरी आठ शाखा नगरपालिकामा छन् । एक शाखाका प्रमुखले अर्काे शाखा हेर्नुपर्ने बाध्यता छ । अधिकृत तहका कर्मचारीको अभाव रहेको छ भने प्राविधिक कर्मचारीको अभाव भएपछि नगरपालिकाले करारमा कर्मचारी भर्ना गरेको छ ।

यस्तै, भजनी नगरपालिकाले समेत कर्मचारी अभाव झेलेको छ । प्राविधिक र शिक्षा शाखामा कर्मचारीको अभाव छ । ६ जना नायव सुब्वा अभाव रहेको नगरपालिकाले जनाएको छ । नगरका ४ सय भन्दाबढी योजना कर्मचारी अभावका कारण कार्यान्वयनमा कठिनाई आएको प्रमुख प्रशासकीय अधिकृत प्रविन पौडेलले बताए ।

धनगढी उप–महानगरपालिकामा समेत कर्मचारीको पदपुर्ति भएको छैन । उप–महानगरको सबैजसो महाशाखा, शाखामा कर्मचारीको अभाव छ । सहकारी, उद्योग, कृषि लगायतका शाखामा कर्मचारीको अभाव बढी देखिएको छ । खेलकुद, सूचना शाखामा समेत कर्मचारीको अभाव छ । उप–मानगरका १९ वडामा ७४ जना कार्यलय सहयोगी समेतको आवश्यकता रहेको सूचना अधिकारी सुरेन्द्र सिंह कार्कीले जानकारी दिए । स्थानीय तहमा कर्मचारीको अभावले सेवा प्रवाहमा समस्या भइरहेको छ भने विकास निर्माणका योजना सञ्चालनमा पनि समस्या छ ।

प्रकाशित समय १०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु