गृहपृष्ठ मन्त्रीमण्डल हेरफेर हुँदैन : प्रधानमन्त्री

मन्त्रीमण्डल हेरफेर हुँदैन : प्रधानमन्त्री

छ महिनापछि काठमाडाैं धूलो र हिलोरहित हुन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिमण्डल तत्काल हेरफेर हुने कुनै सम्भावना नरहेको बताएका छन् । जिल्ला समन्वय समिति महासंघ नेपालले शनिबार आयोजना गरेको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरु हेरफेर हुने हल्ला चलाएको दावी गरे ।

‘केही हुनेवाला छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘राम्रो काम गरिरहेमा कुनै मन्त्री हट्ने छैनन् ।’ कार्यक्रममा सहभागी अर्थमन्त्री डा. युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासहित सहभागी कार्यक्रममा प्रधानमन्त्रीले आलोचना र हमलाबाट नडराउन पनि आग्रह गरे ।

पार्टी र सरकार बलियो बनेकाले विरोधीले आफ्नोविरुद्ध पनि हमला गरिरहेको भन्दै उनले भने, ‘सरकार दूरदर्शी र स्पष्ट सोचका साथ विकास र समृद्धिका लागि काम गरिरहेको छ । छिमेकीसँगको सम्बन्ध सुधार र सहकार्य बढाउँदै हामी अघि बढिरहेका छौं । कतिपयलाई यो मन परिरहेको छैन ।’

‘छ महिनापछि धूलो र हिलोरहित काठमाडौं हुन्छ । बाटो, ढल बन्छ । हामी इमान्दारिताका साथ काम गर्छाैं । पानी ल्याउन पाइप हाल्न खन्नैपर्यो । बनाउने क्रममा यस्तो हुन्छ । दुई वर्षभित्र काठमाडौंका बाटा पक्की हुन्छ । कालोपत्र सकिन्छ,’ ओलीले भने, ‘यसमा कोही आत्तिएर केही हुँदैन, सरकार ढल्दैन ।’

चीनसँगको पछिल्लो पारवहन सहमति उल्लेखनीय भएको जनाउँदै उनले अब चाँडै कोशी र गण्डकीमा पानीजहाज चलाउन सर्भेक्षण शुरु हुने बताए । संघीय गणतन्त्रको सफलता र असफलता स्थानीय तहको प्रभावकारितासँग जोडिएकाले गतिशील, सेवामुखी, पारदर्शी र स्वच्छ तथा जनताका साथमा रहेका जनप्रतिनिधिका रुपमा काम गर्न जिससका प्रतिनिधिलाई प्रधानमन्त्रीको आग्रह थियो ।

मुलुकी फौजदारी देवानी कार्यविधि संहिता एक वर्षअघि संसद्बाट पारित भई हाल कार्यान्वयनमा आएकाले कुनै संशोधन गर्नुपर्ने भएमा सरकार तयार रहेको उनको भनाई थियो । त्यसका नाममा सडकमा प्रदर्शन नगर्न उनले आग्रह गरे ।

महासंघका प्रतिनिधिले आफूहरुलाई स्रोत र साधन दिएर अनुगमन र समन्वयको प्रभावकारी भूमिका राख्न आग्रह गरेका थिए । रासस ।

प्रकाशित समय ११:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु