गृहपृष्ठ मन्त्री मगरले भनिन्- कामको रफ्तार बढाउछु
मन्त्री मगरले भनिन्- कामको रफ्तार बढाउछु
खानेपानीमन्त्री बिना मगरले नयाँ योजनाका साथ खानेपानी आयोजनाका कामलाई अगाडि बढाउन द्रुत गतिले कार्य गरिने बताएकी छन् । खानेपानी मन्त्रालयमा सोमबारबाट सुरु भएको साप्ताहिक बैठकमा बोल्दै मन्त्री मगरले साना ठूला आयोजनाहरुको काम रफ्तारले अघि बढाईने बताएकी हुन् ।
उनले पुराना योजनाहरुको प्रगति सन्तोषजनक रहे पनि यतिले मात्रै नपुग्ने भन्दै कामको गति बढाउने जानकारी दिइन् । जनताले महसुस गर्ने गरी कामको नतिजा निकाल्न उनले मन्त्रालय र सो मातहतका विभागीय प्रमुखहरुलाई निर्देशन दिएकी छन् ।
कतिपय आयोजनाका कामहरु गर्दै जाँदा समस्या आईपरे सम्बन्धित मन्त्रालयहरुसँग समन्वय गरेर अघि बढ्ने उनले बताइन् । पुरानो ढर्राले नभई नयाँ तरिकाले कामलाई अघि बढाउन उनले कर्मचारीहरुलाई निर्देशन दिइन् ।
‘जनताका गुनासो आउन दिनु भएन । कामको प्रगति के कसो भईरहेको छ ? कहाँ समस्या आईरहेको छ, मलाई निर्धक्क भएर भन्नुस, म त्यसको समाधान निकाल्ने प्रयत्न गर्छु,’ मन्त्री मगरले भनिन् ।
बैठकमा मेलम्चीको काम समयमै सक्न उनले निर्देशन दिएकी थिइन् । मेलम्ची आयोजनाको काम तीव्र गतिले अघि बढेको विभागीय कर्मचारीहरुले बताएका थिए ।
हरेक साता आयोजनाहरुको प्रगति समीक्षा गर्न बैठक बस्ने उनले जानकारी दिइन् ।
प्रकाशित समय १८:५७ बजे