गृहपृष्ठ सुस्तावासीलाई आफ्नै वडा कार्यालय पुग्न सास्ती
सुस्तावासीलाई आफ्नै वडा कार्यालय पुग्न सास्ती
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का सुस्तावासीलाई आफ्नै वडा कार्यालय भवन आउन सास्ती भोग्नुपर्ने बाध्यता रहँदै आएको छ । सङ्घीय संरचनाअनुसार सुस्तागाउँ, सुस्ता गाउँपालिका–५ मा पर्छ । सुस्तामा वडा कार्यालय भवन छैन । वडा कार्यालयको भवन नारायणी नदीपारि पक्लिहवाको रामनगरमा छ ।
कार्यालय भवन आउन सुस्तागाउँदेखि करिब दुई घण्टासम्म लाग्ने गग्छ । विशेषगरी सहज यातायातको पहुँच नहुँदा सुस्तावासी नारायणी नदीमा डुंगाको प्रयोग गरेर आउनुपर्ने अथवा भारतीय भूमि हुँदै नेपाल प्रवेश गरेर सो वडामा पुग्न करिब दुई घण्टा लाग्ने अवस्था छ ।
सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा नारामै सीमित भएको र सुस्तावासीले वडा कार्यालय पुग्नसमेत निकै सास्ती भोग्नुपर्ने अवस्था रहेको सुस्ता बचाऊ अभियानका अध्यक्ष गोपाल गुरुङ बताउँछन् । नारायणी नदीमा डुंगाको यात्राबाहेक भारतको बाटो हुँदै नेपाल पुग्नुपर्ने बाध्यता छ । यसअगावै पटक–पटक भारतीय सुरक्षाकर्मीको चरम दुर्व्यवहार हुने गरेका कारण अधिकांश सुस्तावासी भारतीय भूमि हुँदै नेपाल जाने गर्दैनन् ।
नारायणी नदीमा डुंगाको जोखिमपूर्ण यात्राका कारण वडा कार्यालय आउन पनि सुस्तावासीलाई निकै सास्ती भोग्नुपर्ने बाध्यता छ । आफ्नै वडा कार्यालय भवन पक्लिहवा जान नारायणी नदीमा पुल नभएकाले वर्षाको समयमा जोखिमपूर्ण डुंगा तरेर आउन पनि निकै समस्या भएको सुस्ता बचाऊ अभियानका उपाध्यक्ष आदम खाँ बताउँछन् ।
वर्षाको समयमा बाढीले नारायणीमा डुंगासमेत नचल्ने अवस्था हुन्छ । नारायणी नदीमा पुल निमार्णको काम सुरु भए पनि बीचैमा अधुरो रहेको अवस्था छ । अहिलेसम्म पुल निर्माणकार्य पूरा हुन नसक्दा दैनिक रूपमा चाहिने सामानका लागि सुस्तावासी भारतीय बजार जान बाध्य छन् ।
निर्माणाधीन झोलुंगे पुल चाँडै सम्पन्न गर्ने कार्यमा गाउँपालिका लागिपरेको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे बताउँछन् । यद्यपि सुस्तावासीले नारायणी नदीमा पुल बन्ने आस अहिलेसम्म मारेका छैनन् । २६५ घरधुरी रहेको सुस्तामा करिब २ हजार ५ सय जनसंख्या छ । (रासस)
प्रकाशित समय ११:०४ बजे

















