गृहपृष्ठ छोटा पद मार्ग र घरवासलाई प्रवर्द्धन गर्दै हाइकर्स क्लब
छोटा पद मार्ग र घरवासलाई प्रवर्द्धन गर्दै हाइकर्स क्लब
हाइकर्स क्लब नेपालले पोखरा र आसपासका छोटो दूरीको पदयात्रा (हाइकिङ) एवं सञ्चालन भएका घरवास कार्यक्रमको प्रवर्द्धन सुरु गरेको छ । पोखरामा क्रियाशील ६० युवा विद्यार्थी तथा व्यवसायीसमेतलाई समेट्दै गठित क्लबले प्रत्येक महिनाको अन्तिम शनिबार एकदिने हाइकिङसहित वरपर सञ्चालित घरवास कार्यक्रमको प्रवर्द्धन गर्न थालेको हो ।
क्लबले हालसम्म पोखराबाट शान्ति स्तुपा, निर्मलपोखरी, अस्ट्रेलियन क्याम्प र काहुँकोट धरहरामा प्रवर्द्धनात्मक हाइकिङ सम्पन्न गरेको क्लबका उपाध्यक्ष एवं हाइकिङ कार्यक्रम संयोजक कृष्ण रानाभाटले जानकारी दिए । ‘विशेषगरी पोखरा आसपासका डाँडाकाँडामा एकदिने हाइकिङसहित त्यहाँ सञ्चालित घरवास कार्यक्रमको प्रवर्द्धन गर्नु हाम्रो मुख्य उद्देश्य हो,’ उनले भने, ‘प्रत्येक महिनाको अन्तिम शनिबार गरिने यस कार्यक्रममा युवा तथा व्यवसायीको सहभागिता बढ्दै गएको छ ।’
यसैबीच क्लबले शनिबार पोखरा महानगरपालिका–११ काहुँकोट धरहरासम्म हाइकिङ सम्पन्न गरेको छ । पोखरा महानगरपालिका–३ बाट सुरु भएको एकदिने हाइकिङ १२ किलोमिटरको दूरी पार गरी वडा नं ११ को काहुँकोट, काँहु धरहरासम्म पुगेर सकिएको संयोजक रानाभाटले जानकारी दिए । उक्त अवसरमा काहुँ धरहरा प्रिमियम घरवासको पनि अवलोकन गरिएको उनले बताए ।
हाइकिङसँगै घरवासको प्रवर्द्धन गरिनुले गाउँ पर्यटनको विकासमा पनि महत्वपूर्ण टेवा पुग्ने गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष रवीन्द्रराज पौडेलले बताए । गाउँ पर्यटनको विकासका लागि यस किसिमका गतिविधिका साथै स्थानीय कला, संस्कृति र कृषिजन्य उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ छ । हाइकिङ नियमित गर्ने योजनाअनुसार आगामी साउन ३२ गते कास्कीको मिर्सासम्म पुग्ने निर्णय भएको संयोजक रानाभाटले जानकारी दिए । (रासस)
प्रकाशित समय १०:४८ बजे

















